२१,चैत २०८२ शनिबार
कैलाली – समाजप्रति जिम्मेवारी र मानवीय संवेदनाको अनुपम उदाहरण प्रस्तुत गर्दै काठमाडौँ महानगरपालिका–१६ नयाँबजार खुसीबु टाउन प्लानिङ निवासी श्रीमती पूर्णिमा श्रेष्ठ तथा उहाँको सपरिवारले कैलालीको जानकी गाउँपालिका–९, अमरावतीस्थित प्रहरी चौकीमा ‘Aquapure’ शुद्ध पिउनेपानी प्रणाली जडान गरी उल्लेखनीय सहयोग प्रदान गर्नुभएको छ।

२०८२ साल चैत्र २१ गते सम्पन्न उक्त कार्यक्रममा चौकीमा कार्यरत सुरक्षाकर्मीहरूको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै तातो, चिसो तथा सादा पानीको सहज उपलब्धता सुनिश्चित गरिएको हो। दैनिक जोखिम र जिम्मेवारीमा खटिने प्रहरीका लागि यो सहयोग केवल सुविधा मात्र नभई स्वास्थ्यप्रतिको दृढ साथ र सम्मानको प्रतीकका रूपमा लिइएको छ।

पूर्णिमा श्रेष्ठसँगै उहाँका छोरा प्रकाश श्रेष्ठ, बुहारी भूमिका श्रेष्ठ तथा नातिनीहरू प्रेसीयस श्रेष्ठ र प्यारीस श्रेष्ठ छोरी किरण श्रेष्ठ ज्वाई बिकल राई नातिनी बर्षा श्रेष्ठ को सक्रिय सहभागितामा सम्पन्न यस कार्यले पारिवारिक एकता, सामाजिक उत्तरदायित्व र सेवाभावको प्रेरणादायी सन्देश दिएको छ।

यस उदाहरणीय योगदानको उच्च मूल्यांकन गर्दै प्रहरी चौकी अमरावतीले विशेष कार्यक्रममा श्रेष्ठ परिवारलाई सम्मान पत्रसहित औपचारिक रूपमा सम्मानित गरेको छ। कार्यक्रममा प्रहरी चौकी इन्चार्ज कृष्ण सिंह धामी विशिष्ट अतिथि तथा का.व. वडा अध्यक्ष तेज बहादुर रावल प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रममा वक्ताहरूले यस्ता सहयोगले सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउनुका साथै स्वास्थ्य संरक्षणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै समाजमा यस्ता सकारात्मक पहलहरूको निरन्तरता आवश्यक रहेको औंल्याए।

सम्मान पत्रमार्फत श्रेष्ठ परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँहरूको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ।
सौजन्य:
पूर्णिमा श्रेष्ठ तथा परिवार

