१९,चैत २०८२ बिहीबार
बाँके, नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ कोरियनपुरमा एक महिलालाई मध्यरातमा जिउँदै जलाएर हत्या गरिएको घटनाले समग्र जिल्लालाई स्तब्ध बनाएको छ। २०८२ साल चैत्र १४ गते राति करिब १२ देखि १ बजेको समयमा भएको उक्त नृशंस घटनाप्रति नागरिक समाज र स्थानीयवासीले गम्भीर आक्रोश व्यक्त गरेका छन्।

घटनापछि मुस्लिम युवा अरशद शेष (चुन्ना) को नेतृत्वमा नागरिक समाजले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।
ज्ञापनपत्रमा रातको समयमा सबै सुतिरहेको बेला एक महिलामाथि भएको यस्तो अमानवीय आक्रमणले समाजमा सुरक्षाको अवस्था कमजोर रहेको र अपराधीहरू कानूनको डरबाट मुक्त रहेको स्पष्ट देखिएको उल्लेख गरिएको छ। यदि दोषीलाई शीघ्र पहिचान गरी कडा सजाय नदिइएमा नेपालगञ्जका नागरिक, विशेषगरी महिलाहरू, आफ्नै घरमा समेत असुरक्षित महसुस गर्न बाध्य हुने चेतावनी दिइएको छ।

नागरिक समाजले प्रशासनसमक्ष पाँच बुँदे माग अघि सारेको छ। जसमा दोषीलाई सार्वजनिक गरी कानुनी दायरामा ल्याउनुपर्ने, कुनै राजनीतिक हस्तक्षेप बिना कडा सजाय सुनिश्चित गर्नुपर्ने, सुरक्षा संयन्त्रको जवाफदेहिता स्पष्ट गर्नुपर्ने, प्रशासनिक तथा सुरक्षा व्यवस्थामा सुधार गर्नुपर्ने र पीडित परिवारलाई राहत, सुरक्षा तथा न्यायको प्रत्याभूति दिनुपर्ने माग रहेका छन्।
साथै, घटनालाई दबाउने, प्रमाण नष्ट गर्ने वा पहुँचका आधारमा दोषीलाई जोगाउने प्रयास भएमा जनस्तरबाट कडा आन्दोलन हुने चेतावनीसमेत दिइएको छ। नागरिक समाजले यस्तो अवस्था आएमा त्यसको पूर्ण जिम्मेवारी प्रशासनले नै लिनुपर्ने स्पष्ट पारेको छ।
यो घटनाले नेपालगञ्जमा सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ भने नागरिकहरू न्यायको पर्खाइमा रहेका छन्।

