१३, चैत २०८२ शुक्रबार
बाँके,नेपालगञ्ज- नेपालगञ्जमा जारी “मेयर कप (पुरुष) टी–२० क्रिकेट प्रतियोगिता” को बहुप्रतिक्षित फाइनल खेल अत्यन्तै रोमाञ्चक बनेको छ। कडा प्रतिस्पर्धाबीच ज्योति स्पोर्ट्स एकेडेमीले नेपालगञ्ज च्याम्प्सलाई ३ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा दर्ता गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको ज्योति स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १२९ रनको लक्ष्य प्रस्तुत गर्यो। टोलीका लागि शुभेन्दु पाण्डेले ३६ रनको संयमित इनिङ खेले भने अजय साहनीले ३४ रन जोड्दै महत्वपूर्ण योगदान दिए।
अभिनेश शाहले २२ रन बनाउँदा अन्य ब्याट्सम्यानले पनि सानो–सानो योगदान दिएका थिए।
नेपालगञ्ज च्याम्प्सका बलरहरूले सुरुदेखि नै कसीएको प्रदर्शन गर्दै विपक्षीलाई ठूलो स्कोर बनाउन दिएनन्। नासिर अन्सारीसहित अन्य बलरहरूले महत्वपूर्ण समयमा विकेट लिँदै खेललाई सन्तुलनमा राखेका थिए।
१२९ रनको लक्ष्य पछ्याएको नेपालगञ्ज च्याम्प्सले सुरुआत राम्रो गरे पनि नियमित अन्तरालमा विकेट गुमाउँदा दबाबमा पर्यो। टोलीका लागि सम्सुदिन अन्सारीले उत्कृष्ट ७३ रनको लडाकु इनिङ खेल्दै अन्तिमसम्म संघर्ष गरे। उनले चौका–छक्कामार्फत विपक्षीमाथि दबाब सिर्जना गरे पनि अन्य ब्याट्सम्यानबाट पर्याप्त साथ नपाउँदा लक्ष्य भेट्न सकेनन्।
खेल अन्तिम ओभरसम्म पुग्दा नतिजा अनिश्चित बनेको थियो। तर अन्ततः नेपालगञ्ज च्याम्प्स २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमै सीमित भएपछि ज्योति स्पोर्ट्स एकेडेमीले ३ रनको रोमाञ्चक जित निकाल्दै उपाधि जित्न सफल भयो।
ज्योति स्पोर्ट्स एकेडेमीका बलरहरूले निर्णायक समयमा उत्कृष्ट बलिङ गर्दै खेल आफ्नो पक्षमा पारे। विशेषगरी रबिश वर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्दै टोलीलाई जित दिलाए। उनको उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको छ।

