११,चैत २०८२ बुधबार
बाँके,नेपालगञ्ज- नेपालगञ्जस्थित यात्रा मिडिया प्रालिले आफ्नो स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै पाँचौं वार्षिकोत्सव विशेष रूपमा मनाएको छ। बुधबार मानव सेवा आश्रममा आश्रितहरूलाई बिहानी भोजन गराएर संस्थाले परोपकारी कार्यमार्फत उत्सव सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष जनक थापाका अनुसार, स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा फरक ढंगले मनाउने उद्देश्यले समाजका आवश्यकतामा साथ दिने प्रयास गरिएको हो। “हामीले उत्सवलाई अर्थपूर्ण बनाउने सोचसहित आश्रमका दाजुभाइ–दिदीबहिनीहरूसँग खुशी साट्यौं,” उनले बताए।

उक्त अवसरमा विगत पाँच वर्षदेखि संस्थालाई साथ, सहयोग र मार्गदर्शन गर्दै आएका पाँचजना व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरेले सल्लाहकार खेम बिष्ट, सहकर्मी सुरेन्द्र चलाउने, फुटबल प्रशिक्षक नरेन्द्र शाह, अडिटर चक्र गिरी र क्यामेरा पर्सन राकेश यादवलाई प्रशंसा पत्र प्रदान गरे।

सम्मानित व्यक्तित्वहरूको योगदानको कदर गर्दै यात्रा मिडियाले आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको जनाएको छ। साथै, सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता परोपकारी कार्यलाई निरन्तरता दिने संस्थाको प्रतिबद्धता रहेको छ।


