११, चैत २०८२ बुधबार
बाँके, नेपालगञ्ज- नेपालगञ्जमा जारी मेयर कप (पुरुष) टी–२० क्रिकेट प्रतियोगिताले रोमाञ्चक मोड लिएको छ। दोस्रो सेमिफाइनलमा ज्योति स्पोर्ट्स एकेडेमीले दमदार प्रदर्शन गर्दै ब्राइटल्याण्ड स्कूललाई ८ विकेटले सहज रूपमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ, जहाँ अब उसको भिडन्त नेपालगञ्ज च्याम्प्ससँग हुनेछ।

एम.पी. स्कूल ग्राउण्डमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको ब्राइटल्याण्ड सुरुदेखि नै दबाबमा रह्यो। ज्योति स्पोर्ट्सका बलरहरूले कसेको बलिङ गर्दै विपक्षीलाई खुल्न नदिँदा ब्राइटल्याण्ड १७.१ ओभरमा मात्र ७४ रनमै अलआउट भयो। रोहन केसीले १९ रन बनाउँदै टोलीका लागि केही प्रतिरोध गर्ने प्रयास गरे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्।
ज्योति स्पोर्ट्सका निशान्त आचार्यले ३ विकेट लिँदा सिद्धान्तराज शाहीले २ विकेट झार्दै विपक्षीलाई सस्तैमा समेटे।
७५ रनको सामान्य लक्ष्य पछ्याएको ज्योति स्पोर्ट्सले आक्रामक सुरुवात गर्दै खेल आफ्नो नियन्त्रणमा राख्यो।
कप्तान सिद्धान्तराज शाही र कृषितज थापा मगरले संयमित र जिम्मेवार इनिङ्स खेल्दै टोलीलाई सहज जिततर्फ डोर्याए। कृषितजले अविजित ३१ रन र शाहीले अविजित २३ रन बनाए।
ज्योति स्पोर्ट्सले ११.१ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै एकतर्फी जित दर्ता गर्यो। बलिङ र ब्याटिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै टोलीले आफ्नो शक्ति प्रमाणित गरेको छ।
अलराउन्ड प्रदर्शनका लागि सिद्धान्तराज शाही ‘प्लेयर अफ द म्याच’ घोषित भए। अब प्रतियोगिताको उपाधिका लागि हुने फाइनल खेलमा नेपालगञ्ज च्याम्प्स र ज्योति स्पोर्ट्स एकेडेमीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

