१०, चैत २०८२ मगंलवार
बाँके,नेपालगञ्ज – नेपालगञ्जमा जारी “मेयर कप टी–२० क्रिकेट प्रतियोगिता” अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालगञ्ज च्याम्प्सले उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेड भिजन क्रिकेट क्लब (UVCC) लाई २८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। एम.पी. ग्राउण्डमा सम्पन्न खेल सुरुदेखि नै रोमाञ्चक बने पनि निर्णायक समयमा च्याम्प्स हाबी देखिएको थियो।

टस जितेर पहिले ब्याटिङ रोजेको च्याम्प्सले आक्रामक सुरुवात गर्दै व्यवस्थित इनिङ्स खेलेको थियो। निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै टोलीले १५५ रनको प्रतिस्पर्धात्मक लक्ष्य तयार पारेको थियो। मध्यक्रमका ब्याट्सम्यानहरूको उत्कृष्ट साझेदारी र तीव्र रनगतिको कारण च्याम्प्स बलियो अवस्थामा पुगेको थियो।
१५६ रनको लक्ष्य पछ्याएको UVCC ले सुरुवात सन्तोषजनक गर्न खोजे पनि च्याम्प्सका बलरहरूको कसिलो बलिङ र अनुशासित फिल्डिङका कारण दबाबमा पर्यो। नियमित अन्तरालमा विकेट गुमाउँदै गएको UVCC १६.४ ओभरमै १२७ रनमा समेटियो।
खेलभरि नेपालगञ्ज च्याम्प्सले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सन्तुलित र प्रभावशाली प्रदर्शन गर्दै विपक्षीलाई नियन्त्रणमा राख्यो। विशेषगरी बलिङ आक्रमणले UVCC का प्रमुख खेलाडीहरूलाई जम्न नदिँदा खेल पूर्ण रूपमा च्याम्प्सको पक्षमा गएको थियो।
यस जितसँगै नेपालगञ्ज च्याम्प्सले प्रतियोगिताको फाइनलमा दमदार प्रवेश गर्दै उपाधितर्फ बलियो दाबी प्रस्तुत गरेको छ।

