०७,चैत २०८२ शनिबार
बाँके, नेपालगञ्ज — इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदलाई विशेष बनाउँदै ‘राजा खान विइड हृयुमन’ अभियान अन्तर्गत समाजसेवी राजा खानको पहलमा सेमई वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

ईदको खुशी साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा समुदायका विभिन्न परिवारहरूलाई सेमई वितरण गरिएको थियो। कार्यक्रममार्फत दर्जनौँ परिवार लाभान्वित भएका छन्।

समाजसेवी राजा खानले ईदजस्तो पवित्र अवसरमा एकआपसमा सहयोग र सद्भाव साटासाट गर्नु नै पर्वको वास्तविक सन्देश भएको बताए। उनले आगामी दिनहरूमा पनि यस्ता सेवा कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

उक्त ‘राजा खान विइड हृयुमन’ अभियानले विगतदेखि नै खेलकुददेखि विभिन्न सामाजिक कार्यहरूमा उल्लेखनीय योगदान दिँदै आएको छ।
स्थानीयवासीहरूले ‘राजा खान विइड हृयुमन’ अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले ईदको महत्व झन् बढाएको र समाजमा सकारात्मक सन्देश फैलाएको बताएका छन्।

