०५, चैत २०८२ बिहिवार
बाँके,नेपालगञ्ज — नेपालगञ्जमा जारी मेयर कप महिला क्रिकेट प्रतियोगिता अन्तर्गत भएको रोमाञ्चक खेलमा नेपालगञ्ज मोडेल एकेडेमी ले होल्याण्ड हाइस्कुल लाई ३ रनको झिनो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ। अन्तिम ओभरसम्म उतारचढावपूर्ण बनेको खेलले दर्शकलाई भरपुर रोमाञ्च प्रदान गर्यो।

टस जितेर पहिले ब्याटिङ गरेको मोडेल एकेडेमीले निर्धारित १८ ओभरमा ६ विकेट गुमाउँदै १४४ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो। टोलीका लागि कृष्ना चन्द ले २७ रनको महत्वपूर्ण योगदान दिँदै इनिङ्स सम्हालिन् भने आरती बिष्ट र अरुसी भट्टराई ले समान १२/१२ रन जोड्दै मध्यमक्रमलाई मजबुत बनाए। अतिरिक्तबाट आएको ५४ रनले टोलीलाई मजबुत स्थितिमा पुर्यायो, जुन अन्ततः निर्णायक सावित भयो।
१४५ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको होल्याण्ड हाइस्कुल सुरुआतदेखि नै दबाबमा देखियो। नियमित अन्तरालमा विकेट गुमाउँदा टोली लय समात्न सकेन। यद्यपि रञ्जु श्रेष्ठ ले ५१ रनको शानदार अर्धशतक प्रहार गर्दै जितको आशा जीवित राखिन्।
तर अन्य खेलाडीबाट साथ नपाउँदा टोली १८ ओभरमा ९ विकेट गुमाउँदै १३० रनमै सीमित भयो।
बलिङतर्फ मोडेल एकेडेमीकी कृष्ना चन्द ले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै ३ महत्वपूर्ण विकेट लिइन्। दबाबपूर्ण क्षणमा विकेट झार्दै खेलको मोड बदल्ने उनको भूमिकाले टोलीलाई जित दिलायो। उनको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।
यस जितसँगै नेपालगञ्ज मोडेल एकेडेमीले प्रतियोगितामा आफ्नो दाबेदारी मजबुत बनाएको छ।

