०५, चैत २०८२ बिहिवार
बाँके, नेपालगञ्ज — महेन्द्र बहुमुखी क्याम्पसमा चैत ७ गते आयोजना गरिएको स्वागत कार्यक्रमप्रति मुस्लिम विद्यार्थीहरूले कडा असन्तुष्टि जनाउँदै विरोध प्रकट गरेका छन्।
उक्त दिन मुस्लिम समुदायको महान पर्व ईद–उल–फित्र परेको कारण कार्यक्रममा सहभागी हुन असहज भएको विद्यार्थीहरूको गुनासो छ। उनीहरूले ईद आफ्नो महत्वपूर्ण धार्मिक पर्व भएकाले यसलाई नजरअन्दाज गर्न नसकिने स्पष्ट पारेका छन्।

मुस्लिम विद्यार्थीहरूको अनुसार, यस विषयमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष केशर जंग शाह, सचिव चिरञ्जीवी बुढा तथा अन्य पदाधिकारीलाई समयमै जानकारी गराइएको थियो। तर, कार्यक्रमको मिति परिवर्तन नगरी यथावत राखिएकोप्रति उनीहरूले गम्भीर आपत्ति जनाएका छन्।
विद्यार्थीहरूले ईदकै दिन कार्यक्रम राख्नुले आफ्नो धर्म, आस्था र सहभागितालाई बेवास्ता गरिएको महसुस भएको बताएका छन्।

उनीहरूले यस्तो निर्णयलाई असंवेदनशील भन्दै घोर निन्दा गरेका छन् र स्पष्ट रूपमा विरोध जनाएका छन्।
मुस्लिम विद्यार्थीहरूले समावेशी शिक्षण संस्थामा सबै समुदायको सम्मान हुनुपर्नेमा जोड दिँदै भविष्यमा यस्ता विषयमा संवेदनशीलता अपनाउन आग्रह गरेका छन्।

