भर्खरै, राजनीति, व्यापार, समाचार, समाचार

राईको प्रतिबद्धता पूरा : मालपोत कार्यालय बाँकेमा निःशुल्क हेल्प डेस्क सञ्चालन

०३, चैत २०८२ मगंलवार 

बाँके, नेपालगञ्ज — निर्वाचनअघि गरेको प्रतिबद्धता पूरा गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मोहोम्मद इस्तियाक राईले मालपोत कार्यालय बाँकेमा निःशुल्क ‘सेवाग्राही सहायता कक्ष (हेल्प डेस्क)’ सञ्चालनमा ल्याएका छन्।

चुनावी अभियानका क्रममा उनले १५ दिनभित्र हेल्प डेस्क स्थापना गरी निःशुल्क रूपमा जग्गाधनी प्रमाणपूर्जाको श्रेस्ता कायम गराइने घोषणा गरेका थिए। सोही प्रतिबद्धता कार्यान्वयन गर्दै उनले जितेलगत्तै सेवा सुरु गराएका हुन्।


प्रदेश सरकार र नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर छोटो समयमै हेल्प डेस्क स्थापना गरिएको हो। यसबाट सेवाग्राहीले मालपोत कार्यालयमा आवश्यक प्रक्रिया पूरा गर्न सहज, छिटो र निःशुल्क सेवा पाउने अपेक्षा गरिएको छ।


उद्घाटनका क्रममा सांसद राईले हाल जनशक्ति अभाव रहेकाले आर्थिक रूपमा कमजोर नागरिकलाई प्राथमिकतामा राखेर सेवा लिन आग्रह गरेका छन्।

Advertisement

उनले भने, “अहिले जनशक्ति कम भएकाले लेखापढीमा पैसा तिर्न नसक्ने नागरिकले हेल्प डेस्कबाट सेवा लिनुहोस्। छिट्टै जनशक्ति थपेर सबै सेवाग्राहीलाई समेट्ने प्रयास गर्छौं।”
हाल जेनजी आन्दोलनका क्रममा लालपूर्जा जलेपछि पुनः निर्माणका लागि मालपोत कार्यालयमा सेवाग्राहीको भीड बढिरहेको छ।

सामान्यतया श्रेस्ता कायम गर्न लेखापढी व्यवसायीमार्फत सेवा लिँदा २ हजारदेखि ३ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था छ। तर हेल्प डेस्कमार्फत सेवा लिँदा यस्तो खर्च नलाग्ने भएकाले सर्वसाधारणलाई ठूलो आर्थिक राहत मिल्ने अपेक्षा गरिएको छ।

यस पहलले बिचौलियाको भूमिका घटाउँदै सेवा प्रवाहलाई पारदर्शी, व्यवस्थित र जनमैत्री बनाउने विश्वास गरिएको छ। स्थानीय स्तरमा पनि यस कदमलाई सकारात्मक रूपमा हेरिएको छ।

Advertisement

हेल्प डेस्क उद्घाटन कार्यक्रममा प्रदेशका आन्तरिक मामिला मन्त्री आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, तथा मालपोत कार्यालयका प्रमुख सविनसिंह चौधरीलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो पहलले जनताको सेवामा प्रभावकारी सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0