०२,चैत २०८२ सोमबार
बाँके, नेपालगञ्ज – नेपालगञ्जमा जारी मेयर कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा ब्राइटल्यान्ड माध्यमिक विद्यालयले प्रभावशाली प्रदर्शन गर्दै नेपालगञ्ज मोडेल एकेडेमीलाई ९८ रनले पराजित गरेको छ। एम.पी. स्कुल मैदानमा भएको खेलमा ब्राइटल्यान्डले ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै दमदार जित दर्ता गरेको हो।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालगञ्ज मोडेल एकेडेमीले सुरुवातमा केही दबाब सिर्जना गरे पनि ब्राइटल्यान्डका ब्याट्सम्यानले आक्रामक खेल प्रदर्शन गर्दै ठूलो स्कोर खडा गरे। ब्राइटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनायो।
टोलीको विशाल स्कोर बनाउने क्रममा सुनिल भण्डारी ले अविस्मरणीय इनिङ्स खेले। उनले केवल ५७ बलमा ११९ रन बनाउँदै शानदार शतक प्रहार गरे। उनको इनिङ्समा १४ चौका र ६ छक्का समावेश थिए। मैदानमा उपस्थित दर्शकलाई रोमाञ्चित बनाएको उनको यो विस्फोटक ब्याटिङ नै ब्राइटल्यान्डको जितको मुख्य आधार बन्यो।
त्यस्तै, साजाद बागवान ले ३७ बलमा ४२ रनको महत्वपूर्ण योगदान दिए। अन्तिमतिर पार्टिक गिरि ले १६ बलमा १७ रन जोड्दै टोलीको स्कोर अझ मजबुत बनाए भने प्रिन्स वाल्मिकी २ रनमा अविजित रहे। अतिरिक्तबाट पनि ब्राइटल्यान्डले २० रन प्राप्त गरेको थियो।
नेपालगञ्ज मोडेल एकेडेमीका लागि बलिङतर्फ राजु खान ले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। तर अन्य बलरहरूले ब्राइटल्यान्डका ब्याट्सम्यानलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन्।
२०६ रनको कठिन लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालगञ्ज मोडेल एकेडेमीको सुरुवात भने कमजोर रह्यो। नियमित अन्तरालमा विकेट गुमाएको टोली १४ ओभर १ बलमा १०७ रनमै अलआउट भयो।
टोलीका लागि अन्जिल घिसिङ ले सर्वाधिक ३५ रन बनाए। त्यस्तै पराश देवकोटा ले १६ रन र शिवा केसी ले ९ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
ब्राइटल्यान्डका बलरहरूले सशक्त बलिङ गर्दै विपक्षीलाई दबाबमा राखे। बलिङतर्फ पार्टिक गिरि ले ३ विकेट लिए भने निखिल धनकुटा र सुनिल भण्डारी ले समान २–२ विकेट लिए।

