०१, चैत २०८२ आइतबार
बाँके, नेपालगञ्ज – नेपालगञ्जमा सञ्चालन भइरहेको नेपालगञ्ज मेयर कप (पुरुष) क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा नेपालगञ्ज च्याम्प्स ले प्रभावशाली प्रदर्शन गर्दै जयबागेश्वरी स्पोर्ट्स क्लब लाई ८५ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्ज च्याम्प्सले निर्धारित ओभरमा १४९ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। टोलीका लागि समशुदिन अन्सारी ले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा शानदार ८१ रन बनाए। उनले आकर्षक स्ट्रोक खेल्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए।
त्यस्तै नास्ता अन्सार ले २२ बलमा ३१ रन जोड्दै महत्वपूर्ण साथ दिए। अन्य खेलाडीमध्ये आकाश बिष्टा ले १७ रन बनाए भने जानु कसगार १२ रनमा अविजित रहे। टोलीले अतिरिक्ततर्फ २६ रन प्राप्त गरेको थियो।
१५० रनको लक्ष्य पछ्याएको जयबागेश्वरी स्पोर्ट्स क्लब भने सुरुदेखि नै दबाबमा पर्दै ९४ रनमै अलआउट भयो। टोलीका लागि मुकेश राधा ले ३३ बलमा ४६ रन बनाउँदै केही संघर्ष गरे भने सुजन डीसी ले १२ रन जोडे। अन्य ब्याट्सम्यानले भने उल्लेखनीय योगदान दिन सकेनन्।
बलिङतर्फ नेपालगञ्ज च्याम्प्सका नासिर अन्सारी ले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। त्यस्तै माबुल रत र साज्जात खान ले समान २–२ विकेट लिए भने आकाश बिष्टा ले १ विकेट हात पारे। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका समशुदिन अन्सारी खेलको म्यान अफ द म्याच घोषित भए।
खेलमा अम्पायरको भूमिकामा शामु खान र अतुल गुप्ता रहेका थिए। नेरी थापा ले स्कोररको जिम्मेवारी सम्हालेका थिए भने विक्रम श्रेष्ठ खेलका म्याच रेफ्री रहेका थिए।

