२९, फल्गुण २०८२ शुक्रबार
बाँके, नेपालगन्ज – नेपालगन्जमा जारी मेयर कप (पुरुष) क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा वार्ड नं. १२ ले प्रभावशाली प्रदर्शन गर्दै स्टिफन टिमलाई १४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको वार्ड नं. १२ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२७ रनको विशाल स्कोर बनायो। टोलीका लागि समिर राना मगरले आक्रामक ब्याटिङ गर्दै ४१ बलमा ७२ रन बनाउँदै उत्कृष्ट योगदान दिए। त्यस्तै प्रमित आचार्यले ४२ बलमा ६७ रनको महत्वपूर्ण इनिङ्स खेले। विशाल वर्माले २६ रन र उत्तम रोकाले १७ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
२२८ रनको कठिन लक्ष्य पछ्याएको स्टिफन टिम भने वार्ड नं. १२ का बलरहरूको कसिलो आक्रमणसामु टिक्न सकेन। स्टिफन टोली १२ ओभरमै सबै विकेट गुमाउँदै मात्र ८१ रनमा समेटियो। स्टिफनका लागि अनुराग वैश्यले सर्वाधिक १५ रन बनाए भने क्षितिज बुद्धा मगरले १३ रनको योगदान दिए।

वार्ड नं. १२ का बलरहरू पनि उत्तिकै प्रभावशाली देखिए। अब्देश कवुजिया, राम आर्य र सौगत खत्रीले समान २–२ विकेट लिए भने समिर राना मगर, रोहित थातर र देव बमले १–१ विकेट लिए।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका समिर राना मगरलाई खेलको म्यान अफ द म्याच घोषित गरिएको थियो।

