भर्खरै, समाचार, समाचार

बाँकेमा सशस्त्र प्रहरीद्वारा ११ लाखभन्दा बढीको अवैध सामान बरामद

२९, फल्गुण २०८२ शुक्रबार 

बाँके, नेपालगञ्ज – बाँकेमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ११ लाखभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।


सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट खटिएको मोबाइल टोलीले मिति २०८२ फागुन २५ र २६ गते नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवा क्षेत्रबाट अवैध सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण सिंह थापाको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छलि गरी नेपालतर्फ ल्याइँदै गरेको लत्ताकपडा, घण्टी, चुरोट तथा विभिन्न किराना सामग्री बरामद गरेको जनाएको छ। बरामद गरिएको सामानको कुल मूल्य रु. ११ लाख ४० हजार ७ सय रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

शंकास्पद अवस्थामा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त सामान नेपालगञ्ज भन्सार कार्यालय जमुनाहमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Advertisement


सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा भन्सार छलि गरी हुने अवैध कारोबार नियन्त्रण गर्न नियमित गस्ती तथा निगरानी बढाइएको सशस्त्र प्रहरीको भनाइ छ। साथै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि पनि निगरानी कडा बनाइएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

स्थानीयवासीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्रबाट विभिन्न प्रकारका सामान अवैध रूपमा भित्र्याउने प्रयास बढ्दै गएको छ। सुरक्षाकर्मीले गस्ती कडा बनाएपछि अवैध कारोबारमा संलग्न व्यक्तिहरूमा त्रास बढेको स्थानीयले बताएका छन्।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने यस्ता अवैध गतिविधि नियन्त्रणका लागि नियमित गस्ती, चेकजाँच तथा निगरानीलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0