२९, फल्गुण २०८२ शुक्रबार
बाँके, नेपालगञ्ज — पवित्र रमदान महिनालाई मध्यनजर गर्दै राजा खान विइङ ह्युम्यान संस्था का अध्यक्ष मोहम्मद अरसद शेष नेतृत्वको टोलीले नेपालगञ्ज कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरूका लागि इफ्तार र सेहरीका लागि आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको छ।

रमदान महिनामा रोजा बस्ने मुस्लिम कैदीहरूलाई सहज रूपमा इफ्तार र सेहरी गर्न सहयोग पुग्ने उद्देश्यले केराउ, चना, तेल,चिनी,चियापती,खजुर,बिस्कुट,आलु,प्याज,पानी,रुआब्जा,बेशन,कचरी मिक्स,कागती लगायतका खाद्य सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष मोहम्मद अरसद शेषले रमदान दया, सहयोग र मानवताको सन्देश दिने पवित्र महिना भएकाले कारागारभित्र रहेका मुस्लिम कैदीहरूलाई पनि धार्मिक आस्थाअनुसार रोजा बस्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा कारागार प्रशासनले संस्थालाई धन्यवाद व्यक्त गर्दै यस्तो सामाजिक कार्यले कैदीबन्दीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरेको थियो।
रमदानको अवसरमा गरिएको यस सहयोगले कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

