२८, फल्गुण २०८२ बिहिवार
दाङ – सुर्खेतमा इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा दाङको लमहीमा दीप प्रज्वलन तथा खबरदारी कार्यक्रम गरिएको छ।

दलित सचेतना अभियान दाङको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै पीडितलाई न्याय दिन र दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्। कार्यक्रममा “इनिशालाई न्याय दे, दोषीलाई कारबाही गर” जस्ता नारा लगाउँदै विरोध प्रदर्शनसमेत गरिएको थियो।

दलित सचेतना अभियान दाङका अध्यक्ष शशि परियारले घटनाको निस्पक्ष छानबिन गरी दोषी पहिचान गरेर हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरे। उनले यस्ता घटनाले समाजलाई गम्भीर बनाएको भन्दै पीडित परिवारलाई न्याय दिलाउन सबै पक्ष संवेदनशील हुनुपर्ने बताए।
फागुन २३ गते बिहान घरबाट ट्युसन पढ्न निस्किएकी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी तथा हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा विक सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनको शरीरभरि निलडाम र रगताम्य अवस्थामा भेटिएपछि अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनालाई बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान गर्दै चार जनालाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

