२४, फल्गुण २०८२ आइतबार
बाँके, नेपालगञ्ज – लुम्बिनी प्रदेशमा नेकपा (एमाले) का शीर्ष नेताहरू चुनावमा पराजित भइरहेका बेला बाँके क्षेत्र नम्बर–२ बाट मोहम्मद इस्तियाक राईको जितले पार्टीको साख जोगिएको छ। संसदीय राजनीतिमा बाँके–२ बाट पहिलो पटक एमालेलाई जित दिलाउँदै राईले ऐतिहासिक सफलता दिलाएका हुन्।

राईले २४ हजार ६२६ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठलाई पराजित गरेका हुन्। श्रेष्ठले १८ हजार ५८१ मत प्राप्त गरेका छन्। करिब ६ हजार मतान्तरले विजयी भएका राईले मतगणनाको सुरुदेखि अन्तिमसम्म अग्रता कायम राखेका थिए।
लुम्बिनी प्रदेशमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेता गोकर्ण बिष्ट तथा महासचिव शंकर पोखरेलजस्ता दिग्गज नेताहरू चुनावमा पराजित भएका छन्। अन्य क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गर्न नसकेको अवस्थामा राईको जित एमालेका लागि ठूलो राहत बनेको छ।

बाँके–२ मा हालसम्म संसदीय चुनावमा एमालेले जित्न नसकेको रेकर्डसमेत राईले तोडेका छन्। यसलाई एमालेका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
राईको जितले एमाले पंक्तिमा उत्साह थपिएको नेकपा एमाले बाँकेका सचिवालय सदस्य शकिल खाँन बताउँछन्। उनका अनुसार, “एमालेका लागि यो ऐतिहासिक जित सावित भयो। कहिल्यै जित्न नसकिने भनिएको क्षेत्रमा पार्टीको झण्डा फहराउन सफल भएका छौं।”

पश्चिम नेपालको चर्चित नेपालगञ्ज शहर र डुडुवा गाउँपालिका समेटिएको बाँके–२ मा व्यक्तिगत रूपमा बलियो छवि बनाएका राई एमालेमा प्रवेश गरेर उम्मेदवार बनेपछि सुरुदेखि नै पार्टीभित्र उत्साह देखिएको थियो। स्थानीय नेताहरूका अनुसार राईको उपस्थितिले एमालेलाई मात्र बलियो बनाएको होइन, यस पटकको चुनाव जित्ने आधार पनि तयार गरेको थियो।

