२०, फल्गुण २०८२ बुधबार
बुधबार बिहान मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक आयोजना गरी निर्वाचन सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सबै काम सम्पन्न भएको जानकारी दिएको हो।
गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा मन्त्रालयका उच्च अधिकारीहरू तथा देशभरका प्रमुख जिल्ला अधिकारी सहभागी थिए। करिब तीन घण्टा चलेको बैठकमा जिल्लागत तयारी, सुरक्षा अवस्था, संवेदनशील क्षेत्रको विश्लेषण र मतदानका दिन अपनाइने सतर्कताबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार सबै जिल्लाबाट निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। शान्ति–सुरक्षा सुदृढ बनाउन आवश्यक समन्वय र रणनीतिमा सहमति भएको पनि उनले बताइन्।
बैठकमा गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई स्पष्ट निर्देशन दिएका थिए। साथै, आवश्यक कर्मचारी, सुरक्षा संयन्त्र र निर्वाचन सामग्री सम्बन्धित मतदान स्थलमा पुगिसकेको जानकारी पनि बैठकमा दिइएको मन्त्रालयले जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको मन्त्रालयको दाबी छ।

