१६, फल्गुण २०८२ शनिबार
बाँके, नेपालगन्ज – बाँकेको बनकट्टी–१, ईदगाह चौकस्थित अलमिअतुल इस्लामिया मदिनतुल बनात (प्राथमिक बालिका विद्यालय) मा बालिका शिक्षालाई थप सशक्त बनाउने उद्देश्यले शैक्षिक तथा फर्निचर सामग्री हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राजा खान विइङ ह्युम्यान संस्था ले विद्यालयलाई आवश्यक कापी, कलम, मार्कर पेन, बेन्च, ह्वाइट बोर्ड, स्कुल घण्टी, स्टुल लगायतका सामग्री सहयोग गरेको हो। यस सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरणमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष मोहम्मद अरसद शेष, सचिव मोहम्मद रासिद शेष, उपाध्यक्ष सदाब खान, कोषाध्यक्ष इरफान अली, सदस्य सेलिना शेष, सदस्य जावेद सैय्यद लगायत अन्य समाजसेवी तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा वक्ताहरूले बालिका शिक्षा नै समुन्नत समाज निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै शिक्षामा लगानी गर्नु भविष्य निर्माण गर्नु सरह भएको धारणा व्यक्त गरे। आगामी दिनमा पनि यस्ता सहयोगात्मक र मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाइएको छ।

विद्यालय प्रशासनले सहयोगी संस्था तथा सम्पूर्ण पदाधिकारीप्रति हार्दिक आभार व्यक्त गर्दै यस सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै पठनपाठनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

