१५, फल्गुण २०८२ शुक्रबार
बाँके, नेपालगन्ज — बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट ले यतिबेला नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ र २१ अन्तर्गत तिलियानपुर क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले स्थानीयका समस्या सुन्नुका साथै आफ्ना योजनाहरू प्रस्तुत गर्नुभएको छ।

घरको आँगनमै बसेर भएको छलफलमा स्थानीय बासिन्दाले आत्मीय स्वागत गरेका थिए। कतै फूलमाला, कतै खादा, कतै साधारण हातेमालो—तर हरेक स्थानमा देखिएको अपनत्वले अभियानलाई थप भावनात्मक र ऊर्जावान बनाएको थियो।

अभियानमा नेपाली कम्युनिस्ट पार्टी का लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर) लगायत प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरूको सहभागिता रहेको थियो। संयुक्त उपस्थितिले संगठनात्मक एकता र सशक्त चुनावी सन्देश दिएको सहभागीहरूले बताएका छन्।

घरदैलोका क्रममा बिष्टले स्पष्ट शब्दमा प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “म यस क्षेत्रका जनताको दुख–सुखको सारथी बन्न चाहान्छु। तपाईंहरूको विश्वास र साथलाई कहिल्यै धोका दिने छैनु।” उहाँले विकास, पारदर्शिता र जनउत्तरदायी नेतृत्व आफ्नो प्राथमिकता रहने उल्लेख गर्नुभयो।

स्थानीय बासिन्दाले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, युवालाई रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा सामाजिक सुरक्षा जस्ता विषयमा अपेक्षा राखेका थिए। बिष्टले ती मागहरूलाई आफ्नो कार्ययोजनाको प्राथमिक सूचीमा राख्ने प्रतिबद्धता जनाउनुभयो।

तिलियानपुरको घरदैलो अभियानले चुनावी प्रतिस्पर्धालाई मात्र होइन, उम्मेदवार र जनताबीचको सम्बन्धको गहिराइलाई समेत उजागर गरेको छ। आत्मीय संवाद र विश्वासको वातावरणले चुनावी माहोललाई थप तताएको छ। अब यो जनसमर्थन मतपेटिकामा कस्तो परिणाममा रूपान्तरण हुन्छ, त्यो भने समयले नै तय गर्नेछ।

