१३, फल्गुण २०८२ बुधबार
बाँके, खजुरा- नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक जि.एम. सहित नेता–कार्यकर्ताहरूको टोलीले खजुरा गाउँपालिका वडा नं. ६ अन्तर्गत गिजरा बस्तीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

घरदैलोका क्रममा उम्मेदवार जि.एम.ले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाहरू सुनेका थिए। स्थानीयवासीले रोजगारी, शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानी जस्ता आधारभूत आवश्यकताका विषयमा ध्यानाकर्षण गराएका थिए।
उम्मेदवार जि.एम.ले जनताको विश्वासलाई मुख्य आधार मान्दै समग्र क्षेत्रको पूर्वाधार विकास, युवाका लागि रोजगारी सिर्जना, कृषि तथा साना उद्यम प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको साथ र विश्वास नै हाम्रो शक्ति हो, विकास र समृद्धिका लागि हामी प्रतिबद्ध छौं,” उनले भने।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले पनि आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन घरघरमा पुगेर जनसमर्थन जुटाइरहेका छन्। गिजरा बस्तीका स्थानीयले उम्मेदवारको प्रत्यक्ष उपस्थितिलाई सकारात्मक रूपमा लिँदै विकासमुखी नेतृत्वको आवश्यकता औंल्याएका थिए।

चुनावी अभियानलाई तीव्रता दिँदै दीपक जि.एम.को टोलीले आगामी दिनहरूमा पनि विभिन्न टोल तथा बस्तीमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

