समाचार, भर्खरै, राजनीति, समाचार

भूमिहीन र सुकुम्बासीका लागि निर्णायक प्रतिबद्धता : वडा १९–२० मा इश्तियाक राईप्रति बढ्दो समर्थन

१३, फल्गुण २०८२ बुधबार 

बाँके, नेपालगन्ज – बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राई ले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ र २० मा घरदैलो तथा कोण सभा गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाएको स्पष्ट गर्नुभएको छ।

फारम टोल, भैयापुर, मोहनपुर तथा वडा नं. २० को थपुवा नयाँ बस्तीमा बिहानैदेखि घरदैलो अभियानमा जुट्नुभएका राईले स्थानीयका घरदैलोमै पुगेर प्रतिबद्धता दोहोर्‍याउनुभयो। मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले विकास, रोजगारी, पूर्वाधार र बसोबास व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

वडा नं. २० मा आयोजित कोण सभामा राईले स्पष्ट शब्दमा भन्नुभयो, “नेपालगन्जका वडा नं. १८ र २० तथा डुडुवाको ४ र ५ नं. वडामा पर्ने अमरहवा बस्तीमा भूमिहीन र सुकुम्बासीको समस्या गम्भीर छ। निर्वाचन आचारसंहिताका कारण धेरै कुरा अहिले खुलाएर भन्न मिल्दैन, तर निर्वाचन लगत्तै यो विषय समाधानतर्फ अगाडि बढ्छ।”

Advertisement

राईले नेकपा एमाले सधैं भूमिहीन र सुकुम्बासीको अधिकारका पक्षमा उभिएको उल्लेख गर्दै व्यवस्थित बसोबास, लालपुर्जा व्यवस्थापन र आधारभूत सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। लामो समयदेखि राज्यको ध्यान नपुगेका समुदायलाई अब न्याय दिलाउने समय आएको उहाँको भनाइ थियो।

“वडा नं. २० सबैभन्दा ठूलो बस्ती हो, तर विकासका हिसाबले सबैभन्दा पछि परेको छ,” राईले भन्नुभयो, “मेरो पहिलो प्राथमिकता यही वडाबाट सुरु हुन्छ। बाटो, पुलपुलेसा, शिक्षा, स्वास्थ्य र सुरक्षित बसोबास—यी सबै क्षेत्रमा एकीकृत योजना ल्याइनेछ।”

त्यस्तै वडा नं. १९ मा आयोजित सभामा पनि स्थानीयले उठाएका सडक, नाला, खानेपानी, विद्यालय र स्वास्थ्य चौकीसम्बन्धी मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने आश्वासन दिनुभयो।

Advertisement

घरदैलो अभियानसँगै भूमिहीन र सुकुम्बासी समुदायबाट राईप्रति समर्थन बढ्दै गएको स्थानीयहरूले बताएका छन्। निर्वाचनको पूर्वसन्ध्यामा उहाँको विकास र अधिकारमुखी एजेन्डाले क्षेत्र नम्बर २ मा नयाँ बहस सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0