१३, फल्गुण २०८२ बुधबार
बाँके, नेपालगन्ज – बिहानको शीतल हावासँगै नेपालगन्ज–१४ का टोलहरूमा बुधबार चुनावी चहलपहल बढेको देखियो। बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट बिहानैदेखि घरदैलो अभियानमा सक्रिय रहनुभयो।

घर–घरमा पुगेर उहाँले मतदातासँग आत्मीय संवाद गर्नुभयो। वृद्धवृद्धा, महिला तथा युवासँग बसेर स्थानीय समस्या सुन्नुका साथै मतदान प्रक्रिया बारे व्यावहारिक जानकारी दिनुभयो। मतपत्रमा सही तरिकाले चिन्ह लगाउने विधि सम्झाउँदै उहाँले भन्नुभयो, “सही मत नै सशक्त आवाज हो, त्यसैले एक मत पनि खेर जानु हुँदैन।”

उहाँले आफ्नो प्रमुख एजेन्डा ‘भ्रष्टाचार शून्य बाँके–२’ लाई पुनः दोहोर्याउँदै पारदर्शी विकास, सुशासन र जवाफदेहितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “जनताको कर र विश्वास दुवैको रक्षा गर्नु हाम्रो दायित्व हो,” उहाँले बताउनुभयो।

स्थानीय बासिन्दाले बिहानै उम्मेदवार दैलोमा पुगेकोप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। एक ज्येष्ठ नागरिकले भने, “मतदान गर्न सिकाउनु र समस्या सुन्नु दुवै काम सँगै गरेको देख्दा भरोसा बढेको छ।”
बिहानको घरदैलो अभियानले नेपालगन्ज–१४ मा चुनावी माहोल थप तातेको छ। प्रत्यक्ष संवाद, मतदाता सचेतना र ‘शून्य भ्रष्टाचार’ को प्रतिबद्धतासहित बिष्टको सक्रियता मतदाताको ध्यान खिचिरहेको देखिन्छ।

