१३, फल्गुण २०८२ बुधबार
बाँके, नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने नेपालगन्ज र डुडुवा गाउँपालिकाबीचको पूर्वाधार विकास तथा ‘कनेक्टिभिटी’लाई नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईले आफ्नो प्रमुख प्राथमिकतामा राख्नुभएको छ। उहाँले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पूर्वाधार अभाव झेलिरहेको डुडुवालाई आधारभूत संरचनामा सशक्त बनाउने स्पष्ट उल्लेख गरिएको छ।
“नेपालगन्जबाट डुडुवा पुगेपछि विकासको फरकपना महसुस नहोस् भन्ने मेरो चाहना हो,” राईले भन्नुभयो, “सम्भावना हुँदाहुँदै पनि डुडुवा पछि परेको छ, तर अब विगतजस्तो अवस्था दोहोरिन दिइने छैन।”
भौतिक पूर्वाधार मन्त्रीका रूपमा कार्यभार सम्हाल्दा राईले डुडुवा क्षेत्रका सडक तथा पुल निर्माणका लागि बजेट सुनिश्चित गराउनुभएको थियो। उहाँकै पहलमा शिलान्यास भएका कैयौं योजना सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा रहेका छन्। “मन्त्री हुँदा शिलान्यास गरेका योजना अहिले निर्माण भएर देख्दा खुसी लाग्छ,” उहाँले घरदैलो अभियानका क्रममा बताउनुभयो।
राईका अनुसार नेपालगन्जजस्तो पश्चिम नेपालको प्रमुख सहरसँग जोडिएको पालिकामा समेत आधारभूत पूर्वाधारको अभाव हुनु विडम्बनापूर्ण थियो। “त्यही अवस्था देखेर योजनामा समेटिएको हो। अब डुडुवामा थप विकास गर्न स्पष्ट योजना बनाइसकेको छु,” उहाँले जोड दिनुभयो।
बाँके–२ मा पर्ने नेपालगन्ज र डुडुवा भौगोलिक रूपमा नजिक भए पनि विकासका दृष्टिले ठूलो अन्तर रहेको उहाँको भनाइ छ। सो अन्तर घटाउँदै दुवै क्षेत्रलाई समान विकासको गतिमा अघि बढाउनु आफ्नो लक्ष्य रहेको राईले बताउनुभयो।
“निर्वाचन क्षेत्र नं. २ को समुदायगत विविधता हाम्रो पहिचान हो। यही विविधताभित्रको एकता र समृद्धिको चाहलाई नीतिगत सुधारसँग जोडेर नेपालगन्ज र डुडुवामा विकास निर्माणको रफ्तार बढाउने हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो।
आगामी दिनमा सडक सञ्जाल विस्तार, पुल निर्माण, कृषि तथा बजार पहुँच सुदृढीकरणमार्फत नेपालगन्ज–डुडुवा ‘कनेक्टिभिटी’लाई मजबुत बनाउँदै क्षेत्रीय समृद्धिको आधार तयार गर्ने योजना रहेको राईले उल्लेख गर्नुभयो।

