१२, फल्गुण २०८२ मगंलवार
बाँके, नेपालगन्ज – नेपाली संगीत तथा सञ्चार जगतका उज्ज्वल नक्षत्र, वरिष्ठ लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधनले सम्पूर्ण कला र सञ्चार क्षेत्र स्तब्ध बनेको छ। मृगौला रोगसँग लामो समयदेखि संघर्षरत रहनुभएका उहाँ उपचारका क्रममा दिवंगत हुनुभएको हो।

दशकौँदेखि लोकसंगीतमा समर्पित निर्मोहीले दुई सयभन्दा बढी गीतमार्फत नेपाली समाजका भावना, माया, पीडा र यथार्थलाई सशक्त रूपमा अभिव्यक्त गर्नुभएको थियो। माटोको सुगन्ध बोकेका, सरल तर गहिरो सन्देश दिने उहाँका गीतहरूले श्रोता–दर्शकको मन जितेका थिए र लोकसंगीतमा विशिष्ट पहिचान स्थापित गरेका थिए।

संगीतसँगै उहाँले सञ्चारकर्मीका रूपमा पनि महत्वपूर्ण योगदान दिनुभयो। रेडियो तथा विभिन्न सञ्चारमाध्यममार्फत निष्पक्ष, जिम्मेवार र समाजप्रति प्रतिबद्ध पत्रकारिताको अभ्यास गर्दै सकारात्मक सन्देश प्रवाह गर्नुभएको थियो। उहाँको सरल स्वभाव, मृदुभाषी व्यवहार र कर्मप्रतिको निष्ठा सहकर्मीहरूका लागि प्रेरणाको स्रोत बनेको थियो।
निर्मोहीबाट पत्रकारिता तालिम लिने तथा नेपालगन्जमा उहाँका सक्रिय कर्महरू नजिकबाट नियाल्ने अवसर पाएकाहरूले उहाँको योगदानलाई सदैव स्मरण गर्ने बताएका छन्।
उहाँको निधनले नेपाली कला तथा सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

