११, फल्गुण २०८२ सोमबार
बाँके, नेपालगन्ज – “विकासका लागि त इस्तियाक राई जिताउनुपर्छ, अरूलाई जिताएर नेपालगन्ज र डुडुवाको हुनुपर्ने विकास सम्भव हुँदैन,” नेपालगन्ज उपमहानगरपालिकाका एक कर्मचारीको भनाइ छ।
बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका मोहम्मद इस्तियाक राई प्रति स्थानीय तहका कर्मचारीदेखि सर्वसाधारणसम्मको अपेक्षा उच्च देखिएको छ। ती कर्मचारीको तर्क छ—विकासका लागि केन्द्रसम्म पहुँच, अनुभव र निर्णय क्षमताको आवश्यकता पर्छ। तीन पटक मन्त्री भइसकेका र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सिधा पहुँच भएका कारण राईले क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिएको छ।
मन्त्री हुँदा अघि बढाएका योजनाहरू
राईले मन्त्री हुँदा नेपालगन्ज र आसपासका क्षेत्रमा विभिन्न पूर्वाधार आयोजना अघि बढाएको समर्थकहरूको दाबी छ। रेडक्रस भवन निर्माण, भेरी अस्पतालको नयाँ भवन, सिटी हल, जमुनाहा–राँझा अस्फाल्ट पिच सडक, नेपालगन्ज–गुलरिया फोरलेन सडक, ट्राफिक लाइट जडान, सिधनियास्थित राप्ती नदीमा डबललेन पुल, डुडुवा नालामा सात वटा पुल निर्माणलगायतका काम उनकै पहलमा अघि बढेको बताइन्छ।
डुडुवाका अम्रहवाघाट, हल्कारापुरुवा, राजारामपुरुवा, नौरीगौडी–बाबागाउँ, छिट्टैपुरुवा–चौफेरी, सैरहीघाट र मिलनचोकका डबललेन पुलमध्ये मिलनचोकको पुल निर्माण सम्पन्न भइसकेको छ भने अन्य पुल ठेक्का प्रक्रियामा गई निर्माणाधीन अवस्थामा छन्। धम्बोजी मावि र धम्बोजीस्थित ब्याडमिन्टन कोर्टजस्ता साना योजनासमेत मन्त्रीकालमै सम्पन्न भएको दाबी गरिएको छ।
पूर्वाधार नै विकासको आधार
हालै महेन्द्र पुस्तकालयमा आयोजित एक कार्यक्रममा अन्य उम्मेदवारहरूले “सांसदको काम नीति निर्माण हो, सडक–नाला बनाउनु मात्र होइन” भन्ने धारणा राखिरहेका बेला राईले भने पूर्वाधारबिनाको विकास सम्भव नहुने तर्क अघि सारे। “सडक, बिजुली, पुल र आधारभूत संरचना नभए उद्योग आउँदैन, बजार बस्दैन, रोजगारी सिर्जना हुँदैन,” उनको भनाइ थियो। कार्यक्रममा सहभागीहरूले उक्त धारणा समर्थन गर्दै ताली बजाएका थिए।
राईको दीर्घकालीन योजना अन्तर्गत राप्ती नदीमा डबललेन पुल निर्माण गरी कञ्चनपुरदेखि दाङसम्म हुलाकी सडकमार्फत जोडेर यस क्षेत्रलाई आर्थिक करिडोरको रूपमा विकास गर्ने रणनीति अघि सारिएको छ।
अनुभव र राजनीतिक पृष्ठभूमि
वि.सं. २०५३ सालदेखि राजनीति सुरु गरेका राई २०६४ र २०७४ सालमा निर्वाचित भएका थिए। उनी २०६७ मा श्रम तथा यातायात मन्त्री, २०७४ मा शहरी विकास मन्त्री र २०७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए। स्नातकोत्तर उत्तीर्ण र ४६ वर्षका राईले जिल्लामात्र नभई देशकै लागि योगदान गर्ने आकांक्षा राखेको बताउने गरेका छन्।
नेपालगन्जका प्रदीप सापकोटाका अनुसार, “पछाडिको सिटमा बसेर ताली बजाउने सांसदभन्दा पहुँच र प्रभावका आधारमा विकास ल्याउन सक्ने प्रतिनिधि रोज्न मतदाता सचेत छन्।”
मतदाताको निर्णय पर्खाइमा
क्षेत्र नम्बर २ मा एक लाख ८ हजार २ सय ९० मतदाता रहेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यहाँ मतदाताले पार्टीसँगै उम्मेदवारको व्यक्तिगत प्रभाव, पहुँच र कार्यक्षमता पनि हेर्ने गरेका छन्।
विकासको पर्यायका रूपमा प्रस्तुत गरिएका इस्तियाक राई यस क्षेत्रमा प्रभावशाली उम्मेदवारका रूपमा अघि देखिएका छन्। अब अन्तिम निर्णय भने मतदाताको हातमा रहेको छ।

