११, फल्गुण २०८२ सोमबार
बाँके, नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जि.एम.को पक्षमा दलित समुदायका अगुवाहरू खुला रूपमा समर्थन जनाउँदै नेपाली कम्युनिष्ट पार्टी मा समाहित हुने क्रम तीव्र बनेको छ।
सोही क्रममा खजुरा गाउँपालिका–५ का स्थानीय दलित अगुवा गोबरे चमार, गङ्गा सागर चमार, चोङ्गे चमार, भगवती चमारलगायतले पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेशपछि बोल्दै गोबरे चमारले समावेशी प्रतिनिधित्व, दलित अधिकारको सुनिश्चितता र सामाजिक न्यायका मुद्दा उठाउने स्पष्ट प्रतिबद्धताका कारण आफूहरू नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भएको बताए।
उनले दलित समुदायलाई विभिन्न भ्रम र प्रलोभनमा नपर्न आग्रह गर्दै बाँके–३ बाट दीपक जि.एम.लाई विजयी गराउन तारा चिन्हमा मतदान गर्न अपिल गरे। “वर्षौंदेखि दोस्रो दर्जाका नागरिकझैँ व्यवहार भोग्दै आएका दलित तथा तराई दलित समुदाय अब सचेत भएर आफ्ना अधिकारका पक्षमा उभिनुपर्छ,” उनले भने।
उम्मेदवार दीपक जि.एम.ले आफू पाहुना उम्मेदवार नभई यस क्षेत्रकै सन्तानका रूपमा जनताको सेवा गर्न मैदानमा उत्रिएको बताउँदै आएका छन्। “मलाई उम्मेदवारका रूपमा मात्र होइन, आफ्नै छोराको रूपमा हेरेर तारा चिन्हमा मतदान गरिदिनुहोस्,” उनले जनतासँग आग्रह गर्दै आएका छन्।
स्थानीयस्तरमा समाजमा भिजेका र सामाजिक व्यक्तित्वका रूपमा चिनिएका दीपक जि.एम.को उम्मेदवारीसँगै बाँके–३ मा नेकपाको पक्षमा जनमत क्रमशः बलियो बन्दै गएको नेताहरूको दाबी छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न समुदाय र समूहबाट समर्थन बढ्दै जाँदा चुनावी माहोल थप तातिँदै गएको छ।

