समाचार, भर्खरै, राजनीति, समाचार

पूर्वाधार बन्यो, अब सेवा सुधार’ : ईस्तियाकको एजेण्डामा भेरी अस्पताल

१०, फल्गुण २०८२ आइतबार 

बाँके, नेपालगन्ज – बाँके क्षेत्र नं. २ बाट नेकपा एमाले का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद ईस्तियाक राईले भेरी अस्पतालको पूर्वाधार विकासलाई आफ्नो कार्यकालको उपलब्धि उल्लेख गर्दै अब सेवा सुधारलाई मुख्य चुनावी एजेण्डा बनाएका छन्।

देशकै जेठा अस्पतालमध्ये एक मानिने भेरी अस्पताल ले पछिल्ला वर्षहरूमा भौतिक संरचनामा उल्लेखनीय फड्को मारेको छ। बीर अस्पताल सँगै स्थापना भएको ऐतिहासिक पृष्ठभूमि बोकेको यस अस्पतालले अहिले अत्याधुनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ।

राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा २०७९ सालमा नयाँ भवनको शिलान्यास गरिएको थियो। बजेट सुनिश्चिततासँगै अघि बढाइएको निर्माण कार्य सम्पन्न भई हाल नयाँ संरचनाबाट उपचार सेवा सञ्चालनमा आइसकेको छ। जिर्ण भवनबाट आधुनिक पूर्वाधारमा रूपान्तरण भएपछि सेवा वातावरणमा सुधार आएको अस्पताल प्रशासनको दाबी छ। साथै, क्षेत्रीय रक्तसंचार केन्द्रको नयाँ भवन निर्माणमा पनि राईको पहल निर्णायक मानिन्छ।

Advertisement

वि.सं. १९४७ मा ‘पृथ्वी वीर अस्पताल डिस्पेन्सरी’ नामबाट स्थापना भएको यो अस्पताल वि.सं. २०१६ मा ‘रत्नराज्य लक्ष्मी देवी प्रसूति गृह’ र वि.सं. २०२२ सालमा ‘भेरी अञ्चल अस्पताल’ का रूपमा नामाकरण हुँदै हालको स्वरूपमा पुगेको हो। साविक मध्यपश्चिमका करिब ३९ लाख र सुदूरपश्चिमका करिब ३० लाख गरी झण्डै ६९ लाख नागरिकको उपचारको आशा र भरोसाको केन्द्रका रूपमा भेरी अस्पताल परिचित छ।
राईले अबको प्राथमिकता पूर्वाधार मात्र नभई गुणस्तरीय सेवा, दक्ष जनशक्ति व्यवस्थापन र विशेषज्ञ चिकित्सक थप्ने विषयमा केन्द्रित हुने स्पष्ट पारेका छन्।

उनले भने, “पूर्वाधार बन्यो, अब सेवा सुधार हुनुपर्छ। पश्चिमको भरोसाको केन्द्रका रूपमा भेरी अस्पताललाई अझ सुदृढ बनाउँछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement