०९, फल्गुण २०८२ शनिबार
बाँके, नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ मा यसपटकको प्रतिनिधिसभा चुनावलाई लिएर नेकपा एमालेका नेता तथा कार्यकर्तामा असाधारण उत्साह देखिएको छ। एमालेले अहिलेसम्म प्रत्यक्षतर्फ जित निकाल्न नसकेको यस क्षेत्रमा प्रभावशाली नेता मोहम्मद इस्तियाक राई पार्टीमा प्रवेश गरी उम्मेदवार बनेपछि कार्यकर्ताहरू ‘इतिहास रच्ने’ दाबी गरिरहेका छन्।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नम्बर २ मा राईको उम्मेदवारीले पार्टी संगठन मात्र होइन, चुनावी समीकरणसमेत बलियो बनेको एमालेको विश्लेषण छ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङ भन्छन्, “यसपाली हामी उच्च मनोबलका साथ इतिहास रच्ने गरी लागिपरेका छौँ।” लामो समयदेखि डुडुवा र नेपालगन्ज क्षेत्रमा संगठन निर्माणमा सक्रिय गुरुङले विगतको अनुभवका आधारमा यसपटक जित सुनिश्चित रहेको दाबी गरे। “बाँके–२ मा हामीले जित्नैपर्छ भन्ने मनोविज्ञानका साथ काम गरिरहेका छौँ,” उनले भने।
नेपालगन्ज नगर कमिटी अध्यक्ष मोहित शाहले पार्टीको स्थिर मत र उम्मेदवारको व्यक्तिगत प्रभावलाई जितको आधार मानेका छन्। “विगतमा पनि विभिन्न चुनौतीबीच एमालेको स्थिर मत खस्दै आएको छ। त्यसमा उम्मेदवारको व्यक्तित्व र उहाँले मन्त्री हुँदा गर्नुभएको कामले थप समर्थन जुटाएको छ,” शाहले बताए। उनले फागुन २१ गते मतपरिणामले यस दाबीलाई प्रमाणित गर्ने विश्वास व्यक्त गरे।
२०७९ सालको निर्वाचनमा एमाले–राप्रपा गठबन्धन हुँदा समानुपातिकतर्फ एमालेले ९ हजार ३ सय ४५ मत पाएको थियो। त्यतिबेला पराजित भए पनि राईले २३ हजार ५ सय २० मत प्राप्त गरेका थिए, जुन उनले २०७४ मा जित्दा ल्याएको २१ हजार ५ सय ७५ मतभन्दा बढी थियो। एमाले नेताहरूका अनुसार, अघिल्लो निर्वाचनमा गठबन्धनविरुद्ध एकजुट प्रतिस्पर्धा भए पनि यसपटक दलहरू एकल प्रतिस्पर्धामा छन्, जसले राईलाई सहज वातावरण बनाएको छ।
निर्वाचन परिचालन समितिका संयोजक भाष्कर काफ्ले भन्छन्, “यसपटक बाँके–२ बाट एमालेले सांसद जिताएर संसदमा पठाउनैपर्छ भन्ने साझा मनोविज्ञानले कार्यकर्ता थप सक्रिय भएका छन्।”
यस क्षेत्रमा नेपाली काँग्रेसबाट सुधांशु कोइराला, रास्वपाबाट विवेक श्रेष्ठ, राप्रपाबाट ऋषिराज देवकोटा तथा नेकपाबाट दीपेन्द्र विष्टलगायत करिब २० जना उम्मेदवार चुनावी मैदानमा छन्। काँग्रेस र राप्रपाले विगतको विरासत जोगाउने प्रयास गरिरहँदा अन्य दलहरू पनि ‘नयाँ इतिहास’ रच्ने दाउमा छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, बाँके–२ को परिणामले पश्चिम नेपालको शक्ति सन्तुलनमा महत्त्वपूर्ण सन्देश दिनेछ। अब सबैको ध्यान फागुन २१ को मतगणनातर्फ केन्द्रित छ।

