०६, फल्गुण २०८२ बुधबार
बाँके, नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नं. २ मा चुनावी सरगर्मी चुलिँदै जाँदा सुधांशु कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेसको प्रचार–प्रसार कार्यालय भव्य रूपमा उद्घाटन गरेका छन्। नाराबाजी, खादा–माला र कार्यकर्ताको उत्साहबीच सम्पन्न उद्घाटन कार्यक्रमले वडा नं. ३ मा कांग्रेसको प्रभावशाली उपस्थिति देखाएको छ।

कार्यालय उद्घाटनलगत्तै कोइरालाले घरदैलो अभियानलाई तीव्रता दिँदै टोल–टोलमा पुगेर मतदातासँग आत्मीय संवाद गरेका छन्। घरआँगनमै पुगेर जनताको समस्या, अपेक्षा र सुझाव सुन्दै उनले विकास, रोजगारी, सुशासन र समावेशी नेतृत्वको स्पष्ट प्रतिबद्धता दोहोर्याए।

“बाँके–२ लाई अवसर र सम्भावनाको केन्द्र बनाउने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ,” उनले सम्बोधनका क्रममा बताए। स्थानीय बासिन्दाले पनि परिवर्तन र प्रभावकारी प्रतिनिधित्वको अपेक्षा राख्दै सकारात्मक प्रतिक्रिया दिएको अभियान टोलीले जनाएको छ।

वडा नं. ३ मा देखिएको जनसहभागिता र उत्साहले बाँके–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको संकेत दिएको छ।

