०५, फल्गुण २०८२ मगंलवार
बाँके, नेपालगन्ज – फागुन २१ गतेको निर्वाचन मिति नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ को राजनीतिक माहोल झनै तातिएको छ। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारमध्ये कमरुद्दिन राईप्रति मतदाताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिएको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट उम्मेदवार बनेका राई गाउँ–टोल, चोक–गल्लीदेखि बजारका चिया पसलसम्म चर्चाको केन्द्रमा छन्। नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएपछि उनको चर्चा झनै चुलिएको छ।

स्थानीय नेता तथा समाजसेवीहरूका अनुसार यसपटक मतदातामा परिवर्तनको आकांक्षा स्पष्ट देखिएको छ। “वर्षौंदेखि परिवर्तनको आश्वासन मात्रै सुन्यौं, अब व्यवहारमा देख्न चाहन्छौं,” एक स्थानीय अगुवाले बताए। उनका अनुसार कमरुद्दिन राई जनतासँग नजिक रहने, इमान्दार र प्रतिबद्ध नेता भएकाले सकारात्मक जनलहर देखिएको हो।
बाँके–२ मा मधेशी तथा मुस्लिम समुदायको उल्लेख्य उपस्थिति रहेको छ। यी समुदायका मुद्दा, अधिकार र पहिचानलाई सशक्त रूपमा उठाउन सक्ने नेतृत्वको आवश्यकता रहेको मतदाताको भनाइ छ।
स्थानीय बासिन्दा भन्छन्, “अब हाम्रो पहिचान र अधिकारका सवालमा सम्झौता होइन, स्पष्ट र सशक्त प्रतिनिधित्व चाहिन्छ।” उनीहरूका अनुसार जसपा र कमरुद्दिन राईले यही आवाजलाई सदनसम्म पुर्याउन सक्छन्।
घरदैलो अभियानमा व्यस्त राईले मतदाताका गुनासा सुन्ने, उनीहरूको दैनिकी बुझ्ने र आफ्ना योजनाबारे जानकारी दिने कामलाई तीव्र बनाएका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि विकास, सिँचाइ, सडक पूर्वाधार र सामाजिक न्याय उनका मुख्य प्राथमिकता रहेको बताइन्छ।
चुनावको दिन नजिकिँदै जाँदा बाँके–२ मा कमरुद्दिन राईप्रति देखिएको जनउत्साहले निर्वाचन परिणाममा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ।

