०४, फल्गुण २०८२ सोमबार
बाँके,नेपालगन्ज – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले नेपालगञ्जस्थित स्वास्तिक काटेजमा आयोजित कार्यक्रममार्फत आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राईले बाँके–२ लाई समावेशी विकास, रोजगारी सिर्जना र सुशासनको नमुना क्षेत्र बनाउने अठोट व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग प्रवर्द्धन र युवा स्वरोजगारलाई प्राथमिकतामा राख्ने स्पष्ट योजना प्रस्तुत गरे।

“जनताको मत केवल जितका लागि होइन, परिणाममुखी कामका लागि हो,” उनले भने, “पारदर्शिता र जवाफदेहिता मेरा मुख्य आधार हुनेछन्।”

सीमावर्ती क्षेत्रका चुनौती समाधान, पूर्वाधार विस्तार, महिला तथा युवाको नेतृत्व विकास र विपन्न समुदायको जीवनस्तर उकास्ने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उनको प्रतिबद्धता रहेको छ।

कार्यक्रममा सहभागी नेता–कार्यकर्ताहरूले राईको योजनालाई व्यवहारिक र जनमुखी भन्दै आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न एकजुट भएर अघि बढ्ने बताएका थिए।

बाँके–२ मा चुनावी सरगर्मी बढिरहेका बेला स्वास्तिक काटेजमा सम्पन्न यो कार्यक्रमले राजनीतिक माहोल थप तातेको छ।

उम्मेदवार मोहम्मद इस्तियाक राईले आफ्नो ‘उम्मेदवारको सन्देश’ सार्वजनिक गर्दै विकास, एकता र सद्भावलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सार्वजनिक सन्देशमार्फत राईले निर्वाचन क्षेत्र नं. २ विविधतायुक्त समाज भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै समृद्धिको आधार भएको बताएका छन्। उनले नेपालगञ्ज र आसपासका क्षेत्रको तीव्र विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने स्पष्ट अठोट व्यक्त गरेका छन्।

उनले सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधार, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन्। “राजनीति समाज परिवर्तनको माध्यम हो, विभाजनको होइन,” भन्ने सन्देशसहित उनले मतदातालाई विकास र स्थायित्वको पक्षमा उभिन आग्रह गरेका छन्।

राईले समावेशी विकासको अवधारणाअनुसार बाँके–२ लाई नमुना क्षेत्र बनाउने दाबी गर्दै आगामी निर्वाचनमा विवेकपूर्ण निर्णय गर्न मतदातासमक्ष अपिल गरेका छन्।

उम्मेदवार मोहम्मद इस्तियाक राईले ‘विकास निर्माण र समृद्धि केन्द्रित प्रतिबद्धता’ सार्वजनिक गर्दै क्षेत्रलाई पूर्वाधार, खेलकुद र शहरी विकासको नमुना बनाउने घोषणा गरेका छन्।

सार्वजनिक प्रतिबद्धताअनुसार नेपालगञ्जलाई आधुनिक क्रिकेट रंगशाला निर्माण गरी राष्ट्रिय खेलकुद केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। फुटबललगायत अन्य खेलका पूर्वाधार विस्तार गर्दै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि पहल, चक्रपथ (रिङरोड) आयोजना कार्यान्वयन, आवश्यक स्थानमा पुल निर्माण तथा सडक विस्तारलाई तीव्रता दिने उल्लेख गरिएको छ। शहरी क्षेत्रको व्यवस्थित विकास, आधुनिक बसपार्क निर्माण, खानेपानी तथा ढल व्यवस्थापन सुधार, राप्ती नदी नियन्त्रणका लागि तटबन्ध निर्माण तथा सिंचाइ विस्तार कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
उद्योग–कलकारखाना प्रवर्द्धन, विद्युत आपूर्तिको दीर्घकालीन समाधान, हरित तथा वातावरणमैत्री शहर निर्माण र समग्र शहरी विकासलाई योजनाबद्ध रूपमा अघि बढाइने प्रतिबद्धतामा उल्लेख छ।

