०४ फल्गुण २०८२ सोमबार
बाँके, नेपालगन्ज – चुनावी अभियानलाई तीव्र बनाउँदै नेकपा एमाले का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राई ले सोमबार नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।

घरदैलो तथा प्रत्यक्ष भेटघाट कार्यक्रममा उम्मेदवार राईले स्थानीय बासिन्दासँग क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारका विषयमा खुला छलफल गर्नुभएको थियो। उहाँले बाँके–२ लाई आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको दृष्टिले नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“जनताको विश्वास नै मेरो शक्ति हो, तपाईँहरूको साथ र सुझावले नै विकासको स्पष्ट मार्गचित्र कोर्न सकिन्छ,” राईले मतदातासँग भन्नुभयो।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले खानेपानी, सडक स्तरोन्नति, युवाका लागि रोजगारी र साना व्यवसाय प्रवर्द्धनका विषय उठाएका थिए। उम्मेदवार राईले यी सबै मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने आश्वासन दिनुभयो।

चुनावी सरगर्मी बढ्दै जाँदा बाँके–२ मा उम्मेदवारहरू घरदैलो र भेटघाटलाई तीव्र पारिरहेका छन्। इस्तियाक राईको थपुवामा भएको कार्यक्रमले स्थानीय स्तरमा चुनावी माहोल थप तातेको देखिएको छ।

