०४, फल्गुण २०८२ सोमबार
बाँके, नेपालगन्ज – मोहम्मद कमरुद्दिन राई यतिबेला बाँके क्षेत्र नं. २ मा घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातामाझ व्यस्त छन्। जनता समाजवादी पार्टी, नेपालबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेपछि उनी नेपालगन्जका गल्ली–गल्ली पुगेर जनताको पिरमर्का सुन्दै आएका छन्।
आफूलाई नेता भन्दा “जनताको सेवक” भन्न रुचाउने राई गरिब, असहाय र विपन्न समुदायको दुःखमा साथ दिन पाउँदा नै सन्तुष्टि मिल्ने बताउँछन्। नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर रहँदा उनले आर्थिक अभावमा विद्यालय जान नसकेका बालबालिकालाई भर्ना गराउने, भोकाका परिवारलाई खाद्यान्न सहयोग गर्ने लगायतका काम गरेका थिए। लकडाउनका बेला घर फर्किन नपाएका झण्डै दुई हजार विद्यार्थीलाई राहत उपलब्ध गराएको प्रसंग उनी अहिले पनि सम्झन्छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धा गर्दै ५ हजार ४४२ मत प्राप्त गरेका राई परिणामबाट निराश नभई त्यसलाई जनताको भरोसा र उर्जाका रूपमा लिएको बताउँछन्। “जनताले दिएको मतले मलाई आरामसँग बस्न दिएन, म निरन्तर घरदैलोमा छु,” उनको भनाइ छ।
उपमेयर पदबाट राजीनामा दिएर संसदीय यात्रामा होमिएका राई प्रतिनिधिसभामा पुगेर विशेषगरी मधेशी तथा मुस्लिम समुदायको आवाज सशक्त रूपमा उठाउने अठोट व्यक्त गर्छन्।
“मत लिएर स्वार्थमा प्रयोग गर्ने प्रवृत्तिले समुदायको अधिकार सुनिश्चित हुन सकेन,” उनले भने, “म संसदमा मधेशी र मुस्लिम जनताको वास्तविक मुद्दा उठाउन चाहन्छु।”
राईको दाबी छ— जनतासँगको प्रत्यक्ष सम्बन्ध, सेवाभाव र समुदायप्रतिको प्रतिबद्धताले यसपटक आफूलाई जिताउने आधार तयार भएको छ।

