समाचार, भर्खरै, राजनीति, समाचार

‘भ्रष्टाचार शून्य’ बाट प्रविधिमैत्री बाँके–२ तर्फ : दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्रले कोर्‍यो विकासको नयाँ खाका

०३, फल्गुण २०८२ आइतबार 

बाँके, नेपालगन्ज – बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट ले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रले बाँके–२ को विकास बहसलाई नयाँ उचाइमा पुर्‍याएको छ। सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको घोषणापत्रले “भ्रष्टाचार शून्य बाँके–२” अभियानलाई मूल नाराका रूपमा अघि सारेको छ।


प्रतिबद्धता पत्रमा नेपालगन्ज लाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ। नागरिकका दैनिक प्रशासनिक कामलाई सहज बनाउन सिफारिस, कर भुक्तानी तथा अन्य सरकारी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराइने उल्लेख गरिएको छ। सबै शुल्क डिजिटल प्रणालीबाट तिर्ने व्यवस्था र फाइलको अवस्था अनलाइन ट्र्याक गर्न सकिने प्रणाली लागू गरिने योजना अघि सारिएको छ।

उच्च गतिको इन्टरनेटसहित टेक पार्क तथा इन्कुभेसन सेन्टर स्थापना गरी युवालाई कोडिङ, डिजिटल मार्केटिङ र फ्रिलान्सिङजस्ता सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य पनि समेटिएको छ।

युवा रोजगारी र उद्यमशीलतालाई प्रतिबद्धता पत्रको मेरुदण्डका रूपमा प्रस्तुत गरिएको छ। बेरोजगार युवाका लागि उत्पादनमा आधारित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, युवा उद्यमीलाई बिना धितो सस्तो ब्याजदरमा स्टार्टअप कर्जा उपलब्ध गराउने तथा कर छुटको व्यवस्था गर्ने योजना उल्लेख गरिएको छ। यसबाट स्थानीय स्तरमै रोजगारी र अवसर सिर्जना गर्ने उद्देश्य लिइएको छ।

Advertisement


बाढी समस्याको दीर्घकालीन समाधानतर्फ पनि स्पष्ट खाका प्रस्तुत गरिएको छ। राप्ती नदी मा वैज्ञानिक तथा दिगो तटबन्ध निर्माण गर्ने, बगर क्षेत्रलाई व्यावसायिक तरकारी खेतीसँग जोड्ने तथा बाढी–डुबान व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने रणनीति अघि सारिएको छ। साथै भूमिहीन सुकुम्बासी लगायत भूमि समस्याको नीतिगत समाधान गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

पर्यटन तथा धार्मिक अर्थतन्त्र सुदृढीकरणका लागि लुम्बिनी विकास कोष सँग सहकार्य गर्दै लुम्बिनी–नेपालगन्ज पर्यटन सर्किटलाई बलियो बनाउने योजना उल्लेख छ। कम्दी–बालापुर क्षेत्रमा रहेको प्राचीन गुम्बा तथा बृहतकालीन शहरको पुरातात्विक खोज र अनुसन्धानका लागि नेपाल सरकारसँग समन्वय गरिने जनाइएको छ। साथै बागेश्वरी मन्दिर लाई ‘स्मार्ट बागेश्वरी’ का रूपमा विकास गर्दै डिजिटल व्यवस्थापन प्रणाली स्थापना गर्ने लक्ष्य राखिएको छ।

प्रतिबद्धता पत्रको सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा “भ्रष्टाचार शून्य बाँके–२” अभियानलाई संस्थागत गर्ने योजना अघि सारिएको छ। सार्वजनिक खर्चको पारदर्शी अनुगमन, सबै ठेक्का तथा योजनाको डिजिटल सार्वजनिक विवरण, अनलाइन गुनासो व्यवस्थापन प्रणाली र सामाजिक अडिटलाई अनिवार्य गर्ने स्पष्ट प्रतिबद्धता जनाइएको छ।

Advertisement

समग्रमा, दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्र केवल चुनावी वाचा मात्र नभई बाँके–२ लाई प्रविधि, सुशासन र जनसहभागितामार्फत नमुना निर्वाचन क्षेत्र बनाउने विस्तृत खाका भएको दाबी गरिएको छ। अब यस दृष्टिकोणप्रति मतदाताको भरोसा कत्तिको रहन्छ भन्ने निर्णय भने निर्वाचन परिणामले नै गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0