०२, फल्गुण २०८२ शनिबार
बाँके, नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ भज्जीपुरवास्थित बन टाइगर क्रिकेट क्लबको आयोजनामा ‘उम्मेदवारसँग खेलकुद प्रेमी’ अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय युवा तथा खेलकुद प्रेमीहरूले आफ्ना समस्या, चुनौती र अपेक्षाका विषयमा खुलेर धारणा राखेका थिए।

युवा लक्षित एजेन्डासहित कार्यक्रममा सम्बोधन गर्दै बाँके क्षेत्र नं. २ का उम्मेदवार दिपेन्द्र विष्टले युवाहरूलाई कुलतबाट टाढा राख्न र अनुशासित नागरिक बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। “खेलकुद केवल मनोरञ्जन मात्र होइन, यो पहिचान र स्वास्थ्यको आधार पनि हो।

भजिपुरवाका युवाहरूको प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउन म सधैं तत्पर रहनेछु,” उहाँले भन्नुभयो।
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विष्टले भजिपुरवा क्षेत्रमा क्रिकेट मैदानको स्तरोन्नति, आवश्यक खेल सामग्री उपलब्ध गराउने तथा स्थानीय प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, बन टाइगर क्रिकेट क्लबले स्थानीय स्तरमा क्रिकेटको आकर्षण बढाउन गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा क्लबलाई थप व्यवस्थित र सशक्त बनाउन सहकार्य गर्ने आश्वासन दिनुभयो।

कार्यक्रममा सहभागी खेलकुद प्रेमीहरूले स्थानीय स्तरमा प्रतियोगिता आयोजना गर्न बजेट अभाव रहेको, खेल पूर्वाधार कमजोर रहेको र राज्यको ध्यान पर्याप्त रूपमा नपुगेको गुनासो गरेका थिए। उनीहरूले दीर्घकालीन योजना र लगानीमार्फत खेल क्षेत्रको समग्र विकास गर्न आग्रह गरेका छन्।
अन्तर्क्रियाले भजिपुरवाका युवामा नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ छ।

