२९, माघ २०८२ बिहिवार
बाँके, नेपालगन्ज — चुनावी माहोल तातिँदै जाँदा बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यही क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईले घरदैलो अभियानलाई सशक्त बनाउँदै जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिएका राई यतिबेला क्षेत्र नम्बर–२ का विभिन्न टोलबस्तीमा पुगेर मतदातासँग भेटघाटमा व्यस्त छन्। शुक्रबार उनले नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रा तथा बुल्बुलिया–१३ का विभिन्न टोलमा घरदैलो गर्दै स्थानीय बासिन्दासँग संवाद गरेका हुन्।

घर–घर पुगेर उनले स्थानीयका समस्या, आवश्यकता र अपेक्षाबारे चासोपूर्वक सुने। भेटघाटका क्रममा रोजगारी, स्वास्थ्य सेवा र शिक्षा मुख्य मुद्दाका रूपमा उठेका थिए। स्थानीयले आधारभूत सेवा सुविधामा सुधार र दीर्घकालीन विकास योजनाको आवश्यकता औंल्याएका छन्।

घरदैलो अभियानका क्रममा राईले आफू निर्वाचित भए स्थानीय मुद्दालाई प्राथमिकताका साथ संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरे। “जनताको विश्वास नै मेरो शक्ति हो। यहाँका समस्यालाई संघीय संसदसम्म पुर्याएर समाधानका लागि प्रभावकारी पहल गर्नेछु,” उनले भने।
स्थानीय बासिन्दाले राईको सरल व्यवहार र प्रत्यक्ष संवाद शैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

कतिपयले विकास, समावेशीता र रोजगारीका सवालमा स्पष्ट दृष्टिकोण राख्ने उम्मेदवार आवश्यक रहेको उल्लेख गर्दै सहयोग र समर्थनको विश्वास दिलाएका छन्।
बाँके–२ मा चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूबीच जनसम्पर्क अभियान तीव्र बन्दै गएको छ।

