भर्खरै, राजनीति, समाचार, समाचार

ठूलो दलबाट उम्मेदवारी पाएपछि विकासको गति दोब्बर हुन्छ : इश्तियाक राई

२८, माघ २०८२ बुधबार 

बाँके, नेपालगन्ज — बाँके क्षेत्र न.२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू विजयी भए बाँकेको विकासमा उल्लेख्य परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। वडा नं १ धम्बोझीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठूलो दल नेकपा एमालेबाट उम्मेदवारी पाएकोले अब झनै प्रभावकारी ढंगले काम गर्न सकिने दाबी गर्नुभयो।

राईले सांसद र मन्त्री रहँदा वडा नं १ मा कार्यान्वयन गरिएका विभिन्न विकास योजनाहरू स्मरण गराउँदै धम्बोझी आफ्नो लागि विशेष महत्वको स्थान रहेको बताउनुभयो। उहाँले भन्नुभयो,

“पहिले वडाध्यक्ष र म फरक–फरक पार्टीमा थियौं, विचार फरक थियो। तर विकासका सवालमा हामी एक ठाउँमा उभियौं। यही सहकार्यका कारण वाटरपार्क, चिल्ड्रेन पार्क, ब्याडमिन्टन कोर्ट, विभिन्न भवन निर्माण र सडक स्तरोन्नति सम्भव भयो।”

उहाँले पुनः विजयी गराए वडा नं १ को समग्र मुहार फेर्ने गरी नयाँ–नयाँ विकास योजना अघि सार्ने प्रतिबद्धता पनि जनाउनुभयो।

Advertisement

पछिल्लो तीन वर्षमा प्रतिनिधिसभामा बाँके क्षेत्र नं २ को भूमिका कमजोर बनेको टिप्पणी गर्दै राईले मतदातालाई आफ्नो कार्यकाल र विगतका प्रतिनिधिहरूको कामको तुलना गरेर मूल्यांकन गर्न आग्रह गर्नुभयो। “सानो पार्टीमा हुँदा पनि मैले बाँकेका लागि ठूला योजना ल्याएँ। अहिले त म नेकपा एमालेबाट उम्मेदवार छु। अध्यक्ष केपी ओलीको नेतृत्वमा मन्त्री हुँदा काम गर्न सकेँ भने अब झनै कति गर्न सक्छु भन्ने कुरा तपाईँहरूले सहजै बुझ्न सक्नुहुन्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा राईले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त धम्बोझीका दुई युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीदहरूको सम्मानमा शहीद गेट र शालिक निर्माण गर्ने वडा नं १ को पहलको प्रशंसा गर्नुभयो। आवश्यक सहयोग गर्न आफू तत्पर रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

Advertisement

यसैबीच उम्मेदवार राईले वडा नं १ धम्बोझीका घरघरमा पुगेर मतदातासँग भेटघाट तथा छलफलसमेत गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0