२७, माघ २०८२ मगंलवार
बाँके, नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईले आफ्नो चुनावी अभियानलाई जनताको घरआँगनसम्म विस्तार गर्दै तीव्रता दिएका छन्। मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै उनले आज नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बिर्ता क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार राईले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाबारे नजिकबाट बुझ्ने अवसर पाए। बिर्ता क्षेत्रका बासिन्दाहरू उम्मेदवार राईलाई आफ्नै घरमा स्वागत गर्न पाउँदा उत्साहित देखिन्थे। बस्ती–बस्तीमा राई पुग्दा युवादेखि वृद्धवृद्धासम्मको उल्लेखनीय सहभागिता देखिनुका साथै चुनावी माहोल थप तातिएको स्पष्ट देखिएको थियो।

मतदाताहरूले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, पूर्वाधार विकास तथा सामाजिक सुरक्षासँग सम्बन्धित विविध समस्याहरू खुलस्त रूपमा राख्दै ती समाधानका लागि प्रभावकारी पहलको अपेक्षा व्यक्त गरेका थिए। जनताको कुरा ध्यानपूर्वक सुन्दै उम्मेदवार राईले आफू जनताको प्रतिनिधिका रूपमा संसदसम्म जनआवाज पुर्याउन प्रतिबद्ध रहेको बताए।
“जनताको विश्वास र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो। यहाँ उठाइएका समस्या र अपेक्षालाई नीति निर्माणको तहसम्म पुर्याउनु नै मेरो मुख्य उद्देश्य हो,” उनले भने।
घरदैलो अभियानकै क्रममा ९३ वर्षीया एक वृद्ध आमासँगको भेट भावनात्मक क्षणका रूपमा स्मरणीय बन्यो। वृद्ध आमाले उम्मेदवार राईलाई आशीर्वाद दिँदै, “जानुस्, तपाईंको मेरो शुभकामना छ,” भन्दै शुभेच्छा व्यक्त गरेकी थिइन्। वृद्धाबाट पाएको आशीर्वादले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उम्मेदवार राईले प्रतिक्रिया दिएका छन्।

यस अभियानसँगै ग्रामीण तथा शहरी क्षेत्रसम्म चुनावी गतिविधि व्यापक रूपमा फैलिँदै गएको देखिएको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता राजन राना मगरका अनुसार बाँके–२ मा जसपाप्रति जनसमर्थन र उत्साह दिनप्रतिदिन बढ्दै गएको छ। जनताको सक्रिय सहभागिताले पार्टीको पक्षमा सकारात्मक वातावरण निर्माण भएको उनको दाबी छ।
चुनावी मिति नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाता मन जित्न घरदैलो अभियानलाई मुख्य माध्यम बनाउँदै जनताकै बीचमा पुगिरहेका छन्।

