२६, माघ २०८२ सोमबार
बाँके, नेपालगञ्ज – बाँके क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमरुद्दिन राईले जनताको अभिमत पाए नेपालगञ्जमा आधुनिक क्रिकेट मैदान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मतदाता भेटघाट कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनी पुगेका उम्मेदवार राईले युवालाई खेलकुदमार्फत सकारात्मक दिशामा जोड्ने उद्देश्यसहित क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका हुन्। उनले क्रिकेट मैदानका लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको जानकारी पनि दिएका छन्।

“जग्गाको बन्दोबस्त भइसकेको छ। कुन ठाउँको जग्गा हो अहिले खुलाउँदिनँ,” राईले भने, “जग्गा किटान गरेपछि अरूले पनि त्यसलाई एजेन्डा बनाउँछन्। तर म जितेपछि क्रिकेट मैदान बनाएरै छाड्छु।”
राईले आफ्नो घर–समुदाय छाडेर जाने नेताले जनताको अधिकार स्थापित गर्न नसक्ने टिप्पणी गर्दै मतदातालाई सचेत रहन आग्रह गरे। “आफूले बनाएको घर छाडेर जानेहरूले अरूको भविष्य बनाउँछन् भन्ने विश्वास गर्न सकिँदैन,” उनले भने, “मधेसी समुदायको अधिकार स्थापित गर्न कुनै कसर बाँकी राख्ने छैन। त्यसका लागि तपाईंहरूको आशिर्वाद आवश्यक छ।”

जितेपछि पनि जनतासँग निरन्तर जोडिएर रहने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “म जिते पनि नजिते पनि तपाईंहरूसँगै रहनेछु। काँधमा काँध मिलाएर सुख–दुःख साटासाट गर्ने मेरो अठोट छ।”
नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयरका रूपमा कार्यरत रहँदा चप्पल लगाउनेदेखि जुत्ता लगाउनेसम्म सबैलाई समान व्यवहार गरेको स्मरण गराउँदै राईले भविष्यमा पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने स्पष्ट पारे।
“पदमा हुँदा होस् वा नहुँदा, मेरो व्यवहार सधैँ समान रहनेछ,” उनले भने, “पदमा पुगेपछि मतदातालाई बिर्सने मेरो बानी छैन।”

उम्मेदवार राईले गरिब, असहाय र पछाडि पारिएका समुदायको अधिकारका लागि निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता समेत दोहोर्याएका छन्।

