२४, माघ २०८२ शनिबार
बाँके, खजुरा – नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. को पक्षमा जनमत दिनप्रतिदिन सशक्त बन्दै गएको छ। समाजमा गहिरो रूपमा भिजेका, स्थानीय र सामाजिक व्यक्तित्वका रूपमा परिचित दीपक जि.एम. लाई उम्मेदवारका रूपमा अघि सारेपछि क्षेत्रभर उत्साह थपिएको स्थानीयको भनाइ छ।

खजुरा गाउँपालिका वडा नं. ५ का रामकुमार नाउ ले मधेसी, मुस्लिम, दलित तथा अल्पसङ्ख्यक समुदायको अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको नेपाली कम्युनिष्ट पार्टीले दीपक जि.एम. जस्तो सामाजिक व्यक्तित्वलाई उम्मेदवार बनाएकोमा आफूहरू खुसी भएको बताए। उनले तारा चुनाव चिन्हमा मतदान गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी खजुरा–३ की सविता बिक ले दलित अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको पार्टीका उम्मेदवार दीपक जि.एम. यस क्षेत्रका लागि आवश्यक नेतृत्व भएको बताउँदै उहाँको पक्षमा मतदान गर्ने घोषणा गरिन्। स्थानीय उम्मेदवार पाएपछि जनतामा नयाँ आशा र उत्साह जागेको उनीहरूको भनाइ छ।

कार्यकर्ता पनि एकमत, जित सुनिश्चित गर्ने संकल्प
नेपाली कम्युनिष्ट पार्टी बाँके क्षेत्र नं. ३ का नेता तथा कार्यकर्ताहरू पनि उम्मेदवार दीपक जि.एम. लाई जिताउन एकमत भएका छन्। शनिबार सम्पन्न भेलामा पार्टीले योग्य, जुझारु र जनतासँग जोडिएको उम्मेदवार अघि सारेकाले एकजुट भएर चुनावी अभियानमा लाग्ने निर्णय गरिएको हो।

कार्यक्रममा बोल्दै नेकपाका नेता महेश्वर जग गहतराज (अथक) ले दीपक जि.एम. जस्तो संघर्षशील उम्मेदवारलाई जिताउन सबै नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे। उनले देश र जनताको वास्तविक नेतृत्व गर्न सक्ने क्षमता नेपाली कम्युनिष्ट पार्टीसँग मात्र रहेको दाबी गर्दै तारा चुनाव चिन्हमा मतदान गर्न आह्वान गरे।
भेलामा नेकपाका नेता अब्दुल हुसेन खाँ, आई.पी. खरेल, डम्बर बिक ‘तुफान’, भद्रप्रसाद देवकोटा तथा निर्वाचन परिचालन समिति संयोजक राजकुमार बिक सहित सयौँ नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। संयोजक बिकले जनसमर्थन बलियो बन्दै गएकाले जित सुनिश्चित भएको दाबी गर्दै अझ सक्रिय भएर लाग्न सबैलाई आग्रह गरे।

