समाचार, भर्खरै, राजनीति, समाचार

एमाले उम्मेदवार सुमन मल्लको पक्षमा बाँके–३ का दलित अगुवा एकजुट

२४, माघ २०८२ शनिबार 

बाँके, नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर ३ का दलित अगुवाहरूले नेकपा (एमाले) का उम्मेदवार सुमन मल्ललाई विजयी गराउन संयुक्त अपिल गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दलित समुदायले एमालेको नेतृत्वमै आफ्ना हक, अधिकार र एजेण्डा सुरक्षित हुने निष्कर्ष निकालेका हुन्।


नेपाल उत्पीडित जातीय मुक्ति समाजको आयोजनामा शनिबार खजुरामा आयोजित दलित अगुवाहरूको भेलाले दलित समुदायको ऐतिहासिक संघर्ष, अधिकार र समावेशी नीतिहरूलाई संस्थागत रूपमा अघि बढाउन एमाले उपयुक्त राजनीतिक शक्ति भएको ठहर गरेको छ। भेलाले बाँके–३ का सम्पूर्ण दलित समुदाय तथा मतदातालाई एमाले उम्मेदवार सुमन मल्लको पक्षमा मतदान गर्न अपिल गरेको हो।

भेलालाई सम्बोधन गर्दै मुक्ति समाज केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष नन्द विश्वकर्माले दलित समुदायको हकहित सुनिश्चित गर्न एमालेले स्पष्ट नीति, कार्यक्रम र प्रतिबद्धता लिएको उल्लेख गर्नुभयो। उहाँले आगामी निर्वाचनमा दलित समुदायको प्राथमिक रोजाइ एमाले भएको दाबी गर्नुभयो।

त्यस्तै, खजुरा गाउँपालिकाकी पूर्व उपाध्यक्ष एकमाया विकले बाँके क्षेत्र नम्बर ३ का दलित समुदाय आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउन एकताबद्ध भइसकेको बताउनुभयो। उहाँले दलित समुदायको आवाज संसदमा सशक्त रूपमा उठाउन सक्षम उम्मेदवारका रूपमा मल्ललाई समर्थन गरिएको स्पष्ट पार्नुभयो।

Advertisement

कार्यक्रममा क्षेत्र नम्बर ३ का विभिन्न वडाबाट दलित अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको मुक्ति समाज बाँकेका अध्यक्ष लिलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार भेलाले दलित समुदायबीच राजनीतिक चेतना र संगठनात्मक एकता थप सुदृढ बनाएको छ।

दलित अगुवाहरूको यो एकजुट समर्थनले बाँके–३ को चुनावी प्रतिस्पर्धामा एमाले उम्मेदवार सुमन मल्लको अभियानलाई थप बल पुगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement