१९, माघ २०८२ सोमबार
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ। बैठक पार्टी अध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक प्रचण्डको अध्यक्षतामा बसेको हो।

बैठकमा सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा आ–आफ्ना क्षेत्रगत परिस्थितिबारे विस्तृत रिपोटिङ प्रस्तुत गरेका थिए।
रिपोटिङपछि संयोजक प्रचण्डले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा आफ्नो धारणा राख्दै पार्टी पंक्तिलाई थप जिम्मेवार र सक्रिय बन्न निर्देशन दिनुभएको थियो।
बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आगामी माघ २२ गते बस्ने निर्णय गरेको छ। साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक व्यवस्थापन, मिडिया परिचालन, आचारसंहिता तथा निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरिएको छ।

निर्वाचन परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यले बैठकले प्रदेशगत अनुगमन जिम्मेवारी तोकेको छ। जसअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि साप्कोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ।
त्यसैगरी, बैठकले निर्वाचनका लागि अपिल छिट्टै प्रकाशित गर्ने तथा घोषणापत्रलाई सम्पादन गरी यथाशीघ्र सार्वजनिक गर्ने निर्णय गरेको छ।
प्रचारप्रसारलाई थप सशक्त बनाउने उद्देश्यले अग्नि साप्कोटाको नेतृत्वमा जगतनाथ खतिवाडा र गोविन्द आचार्य सदस्य रहेको केन्द्रीय प्रचार समिति गठन गरिएको छ। उक्त समितिले सरोकारवाला पक्षसँग आवश्यक परामर्श गर्दै प्रचार कार्यलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउने निर्णय बैठकले गरेको छ।

