१८, माघ २०८२ आइतबार
इरफान अलि
बाँके, नेपालगञ्ज — बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र विष्टले महिलाहरूको आर्थिक र राजनीतिक सशक्तिकरण बिना समृद्ध समाजको कल्पना नै असम्भव रहेको ठोकुवा गर्नुभएको छ।

नेपालगञ्जमा आज आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै उहाँले महिलाहरू अब केवल घरधन्दामा सीमित रहने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो। महिलाहरू नेतृत्व, नीति निर्माण र निर्णय प्रक्रियाको केन्द्रमा पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि विष्टले भन्नुभयो, “महिला आर्थिक रूपमा सबल र राजनीतिक रूपमा सचेत नभएसम्म विकासका नारा केवल भाषणमै सीमित हुन्छन्। महिलाको सशक्तिकरण नै दिगो विकासको मेरुदण्ड हो।”

उहाँले आफ्नो उम्मेदवारी महिलाको अधिकार सुनिश्चित गर्ने, रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने र महिलाको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउने ठोस कार्ययोजना सहित अघि बढेको स्पष्ट पार्नुभयो।
महिला नेतृत्व र आत्मनिर्भरता केन्द्रित कार्यक्रममा सहभागी महिलाहरूले विकास र परिवर्तनको यात्रामा महिलालाई अग्रमोर्चामा ल्याउने विष्टको दृष्टिकोण समयको माग अनुसारको रहेको प्रतिक्रिया दिएका थिए।

