१८,माघ २०८२ आइतबार
“विकाससँगै आध्यात्मिक चेतना अपरिहार्य”
बाँके, नेपालगञ्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी चुलिँदै जाँदा उम्मेदवारहरूले मतदाता तथा सामाजिक अगुवासँग भेटघाटलाई तीव्र पारेका छन्। यही क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपेन्द्र बिष्टले आध्यात्मिक गुरु स्वामी विवेकानन्दसँग भेटघाट गर्नुभएको छ।

नेपालगञ्जमा सम्पन्न उक्त भेटमा उम्मेदवार बिष्टले क्षेत्रको शान्ति, सामाजिक सद्भाव र समग्र समृद्धिका विषयमा स्वामीजीसँग आशिष् तथा मार्गदर्शन लिनुभएको थियो। भेटका क्रममा बहुधार्मिक र बहुसांस्कृतिक पहिचान बोकेको बाँके–२ मा सामाजिक एकता कायम राख्न आध्यात्मिक केन्द्रहरूको भूमिका महत्वपूर्ण हुने बिष्टले बताउनुभयो।
डा. योगी विकाशानन्द राजनीतिमा युवाहरूको सक्रिय सहभागितालाई स्वागत गर्दै पद र शक्तिभन्दा माथि उठेर जनताको सेवामा समर्पित हुन सुझाव दिनुभयो। उहाँले “नैतिकताविहीन राजनीतिले समाजलाई सही दिशा दिन नसक्ने” उल्लेख गर्दै इमानदार र मूल्यनिष्ठ राजनीतिक अभ्यासको आवश्यकता औँल्याउनुभयो तथा उम्मेदवार बिष्टलाई सफलताको शुभकामना दिनुभयो।

भेटका क्रममा उम्मेदवार बिष्टले आफ्नो भिजन प्रस्तुत गर्दै भौतिक विकाससँगै जनताको मानसिक र आध्यात्मिक चेतना अभिवृद्धिका लागि पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
बाँके–२ मा यसपटक कडा प्रतिस्पर्धा देखिएको छ। नेकपाका तर्फबाट युवा उम्मेदवारका रूपमा मैदानमा उत्रिनुभएका बिष्टले विभिन्न धार्मिक तथा सामाजिक अगुवासँग भेटघाट गर्दै आफ्नो पक्षमा जनमत सिर्जना गरिरहनुभएको छ।
स्वामी विवेकानन्दसँगको यो भेटलाई चुनावी रणनीतिका दृष्टिले पनि अर्थपूर्ण मानिएको छ, जसले धार्मिक तथा आध्यात्मिक मतदातालाई प्रभाव पार्न सक्ने स्थानीय विश्लेषकहरूको भनाइ छ।
भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार बिष्टले भन्नुभयो,
“स्वामीजीको आशिष् र मार्गदर्शनले मलाई जनताको सेवामा लाग्न थप ऊर्जा मिलेको छ। हामी बाँकेलाई विकासको नमुना मात्र होइन, शान्ति र सद्भावको केन्द्र पनि बनाउनेछौँ।”

