१७, माघ २०८२ शनिबार
बाँके, नेपालगञ्ज – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाँके निर्वाचन क्षेत्र नं. २ ले आयोजना गरेको युवा भेला तथा प्रशिक्षण कार्यक्रमले क्षेत्रको राजनीतिक वातावरणलाई थप ऊर्जावान बनाएको छ। कार्यक्रम युवा पुस्ताको उल्लेखनीय सहभागितासहित उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो।

भेलामा समानुपातिक पदका उम्मेदवार काली मियाँ (कस्मिरा), जामिया खातून हलवाई तथा प्रत्यक्षतर्फका उम्मेदवार दिपेन्द्र विष्ट विशेष वक्ताका रूपमा सहभागी रहनुभयो।

कार्यक्रममा बोल्दै उम्मेदवारहरूले युवालाई परिवर्तनको अग्रपङ्क्तिमा उभिन आह्वान गर्दै देशको वर्तमान अवस्था, जनताको पीडा र वैकल्पिक राजनीतिको आवश्यकता बारे धारणा राख्नुभयो। उनीहरूले युवाको संगठित शक्ति बिना समावेशी, न्यायपूर्ण र जनमुखी शासन सम्भव नहुने स्पष्ट पार्नुभयो।

प्रत्यक्ष उम्मेदवार दिपेन्द्र विष्टले बाँके–२ लाई विकास, रोजगारी र सामाजिक न्यायको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै “यो निर्वाचन केवल जित–हारको होइन, भविष्यको दिशा तय गर्ने अवसर हो” भन्नुभयो।
समानुपातिक उम्मेदवार काली मियाँ र जामिया खातून हलवाईले महिलाहरू, अल्पसंख्यक र सीमान्तकृत समुदायको आवाज संसदसम्म पुर्याउन युवाको निर्णायक भूमिका रहने उल्लेख गर्नुभयो।
भेलाले बाँके–२ मा नेकपाको संगठन मजबुत बनाउनुका साथै युवा आन्दोलनलाई नयाँ गति र आत्मविश्वास प्रदान गरेको सहभागीहरूको भनाइ छ।

