१२, माघ २०८२ सोमबार
नेपालगञ्ज । नेपालगञ्ज नगर स्तरीय युवा सञ्जालको आयोजनामा सञ्चालन गरिएको “सामाजिक चेतना दुई दिने प्रशिक्षक कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका, सेभ द चिल्ड्रेन, फतिमा फाउन्डेसन, सामाजिक विकास मञ्च तथा Raja Khan Being Human Organization को सहकार्यमा आयोजना गरिएको थियो।

कार्यक्रम नारी विकास केन्द्र मा मिति २०८२/१०/११ र १२ गते दुई दिनसम्म सञ्चालन भयो। तालिममा अनुभवी प्रशिक्षक निर्मल सुवेरी, ब्रिजेस ठाकुर तथा वडा प्रहरी कार्यालयका शेखर खड्का ले सहभागी युवाहरूलाई सामाजिक चेतना, नेतृत्व विकास, कानुनी सचेतना र समुदायस्तरमा प्रशिक्षण हस्तान्तरण गर्ने विषयमा प्रशिक्षण प्रदान गर्नुभयो।

नगर युवा सञ्जालका अध्यक्ष आनन्द कुमार बर्मा र सचिव सालिया हाशमी को नेतृत्वमा सल्लाहकार राज बर्मा, नन्दनी सिंह, अंकित मिश्रा तथा सदस्यहरू मिथलेश पासी, प्रियंशी रावल, जेबा शेख र नन्दनी सोनी को सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्यअनुसार सहभागी युवाहरूलाई प्रशिक्षक (Trainer) का रूपमा सक्षम बनाउँदै समाजमा विद्यमान सामाजिक कुरीति, भेदभाव, हिंसा तथा गलत प्रथाविरुद्ध आवाज उठाउने क्षमता विकास गरिएको आयोजकले जनाएको छ। साथै युवामा नेतृत्व क्षमता, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्नुका साथै स्थानीय तह, युवा क्लब र सामाजिक संस्थाबीच सहकार्य सुदृढ गर्ने दिशामा कार्यक्रम केन्द्रित रहेको थियो।

कार्यक्रम समापनका क्रममा युवा सञ्जालका पदाधिकारीहरूले यस किसिमका तालिमले समुदायको सामाजिक तथा आर्थिक विकासमा युवाको सक्रिय सहभागिता बढाउने विश्वास व्यक्त गरे।

नेपालगञ्जलाई सामाजिक चेतनायुक्त र समावेशी शहर बनाउने अभियानमा यो कार्यक्रम महत्वपूर्ण उपलब्धि भएको निष्कर्ष निकालिएको छ।

