१२, माघ २०८२ सोमबार
बाँके, नेपालगञ्ज – बाँके निर्वाचन क्षेत्र नं. २ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा चुनावी गतिविधि तीव्र बनेको छ। प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार दिपेन्द्र विष्ट ले आज वडा नं. ५ मा चुनावी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको छ। उद्घाटनसँगै यस क्षेत्रमा चुनावी माहोल थप उत्साहपूर्ण बनेको छ।

उद्घाटन कार्यक्रममा प्रत्यक्ष उम्मेदवार विष्टसँगै समानुपातिक उम्मेदवारद्वय काली मिया (कस्मिरा) र जामिया खातुन, पार्टीका नेता डिल्ली बराल (अमिर), कार्यकर्ता तथा स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो। ठूलो संख्यामा स्थानीयको सहभागिताले वडा नं. ५ मा चुनावप्रतिको चासो र जनसमर्थन बढ्दो क्रममा रहेको संकेत गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विष्टले चुनाव चिन्ह ‘तारा’ लाई जनताको भरोसा र सहाराको प्रतीक का रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राजनीति सत्तामुखी नभई जनजीवनसँग प्रत्यक्ष जोडिनुपर्ने धारणा राख्दै रोजगारी सिर्जना, उद्यम प्रवर्द्धन, शिक्षा सुधार र आधारभूत सेवाको पहुँच विस्तारलाई आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।

“जनताको आवाज संसदसम्म पुर्याउनु नै मेरो दायित्व हो,” उहाँले भन्नुभयो।
समानुपातिक उम्मेदवारद्वय काली मिया र जामिया खातुनले समावेशी प्रतिनिधित्व, सामाजिक न्याय र समान अवसर का लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँहरूले महिला, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायको हक–अधिकार सुनिश्चित गर्न निरन्तर आवाज उठाउने बताउनुभयो।
चुनावी सम्पर्क कार्यालय उद्घाटनसँगै वडा नं. ५ मा घरदैलो अभियान, जनसंवाद र संगठन विस्तार का कार्यक्रमलाई तीव्र बनाइने जनाइएको छ। स्थानीयवासीहरूले उम्मेदवार विष्टको सरल शैली, सक्रियता र स्पष्ट दृष्टिकोणले आफूहरूमा आशा र भरोसा बढाएको प्रतिक्रिया दिएका छन्।
वडा नं. ५ मा स्थापना गरिएको यो सम्पर्क कार्यालय चुनावी प्रचारको केन्द्र मात्र नभई जनता र नेतृत्वबीच प्रत्यक्ष संवादको साझा मञ्च बन्ने अपेक्षा गरिएको छ।

