०६, माघ २०८२ मगंलवार
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि सुरु भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार उम्मेदवारी दर्ता बिहान १०ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म हुने निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिएको थियो। सोही कार्यक्रमअनुसार सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्न सक्नेछन्।
उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयपत्रसहित आयोगले तोकेका १३ प्रकारका आवश्यक कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने आयोगले जनाएको छ। आजै बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म दर्ता भएका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ।
यसैबीच, माघ ६ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरिएको छ। उजुरी र मनोनयनपत्रमाथि माघ ७ गते दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुकी ५ः०० बजेसम्म जाँचबुझ गरी निर्णय गरिने आयोगले जनाएको छ। माघ ८ गते बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म योग्य उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।
माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो १ः०० देखि ३ः०० बजेसम्म अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। त्यसपछि दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।

