०६, माघ २०८२ मगंलवार
बाँके, नेपालगन्ज – नेपालगन्जमा जारी आठौँ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायक टंक तिमिल्सिना र गायिका शान्तिश्री परियारको बेजोड प्रस्तुतिले माहोल तातेको छ।

महोत्सवको मुख्य मञ्चमा टंक तिमिल्सिनाले ‘पुका पुका गाला’बाट कार्यक्रमको सुरुवात गर्दै ‘कुवाको पानी घैलामा’, ‘वनैको बाच्छो ओराली’, ‘राती राती नहिड’, ‘पैसा पैसा चिलिममा’, ‘हेर्दा लाग्छ दयालु’, ‘कर्णाली’, ‘अछामबाट म सुर्खेत आकोछु’, ‘नाचिदेउ सैयाँ दनादन’ लगायत दर्जनौँ चर्चित गीत प्रस्तुत गर्दा दर्शक चिच्याउँदै, नाच्दै रमाएका थिए।

त्यसैगरी गायिका शान्तिश्री परियारले ‘हिजो राती सपनीमा चुम्मन गरे राजै’ गीतबाट दर्शकलाई झुमाउँदै ‘न्याउली बनैमा’, ‘हितैको माया’, ‘कम्मरमा पाटुकी’, ‘जुनेली रातै रातमा’, ‘लौन नी भैया हान्देउ गुलेली’, ‘अरेली काडैले मलाई चस्सै चस्सै’, ‘गलबन्दी च्यातियो’ लगायत दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शकले साथ दिएका थिए।

कार्यक्रममा मोडल निशा गिरीले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्। महोत्सवमा दैनिक लोकदोहोरी तथा स्थानीय कलाकारहरूको प्रस्तुति निरन्तर भइरहेको आयोजकले जनाएको छ।

पुष ३० गतेदेखि सञ्चालनमा आएको महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा बाँकेको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा भइरहेको हो।

आयोजक मूल समितिका संयोजक समरबहादुर खत्रीका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति भइरहेको छ। आगामी दिनमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, प्रीति आलेलगायत दुई दर्जनभन्दा बढी कलाकारहरूको प्रस्तुति रहनेछ।

महोत्सवमा लन्डन ब्रिज, फिस टनेल, विभिन्न व्यापारिक स्टल, थारु गाउँ अवलोकन, विद्यालयस्तरीय एकल नृत्य प्रतियोगितालगायत आकर्षणहरू रहेका छन्। आज मंगलबार गायक बद्री पंगेनी, एञ्जिला रेग्मी, शिव जिएम तथा डान्सर बिन्दु विष्टको प्रस्तुति रहने सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिनुभयो।

